१—१ गोलको बराबरीमा सकियो नेपाल—भारत मैत्रिपूर्ण खेलकाे पहिलाे म्याच

-


     जनहित न्युज    
     भाद्र १७ गते २०७८


झन्डै चार वर्षपछि भएको नेपाल र भारतबीचको बिहीबारको खेल फेरि बराबरीमा सकिएको छ । दशरथ रंगशालामा कोरोनाभाइरस संक्रमणका कारण विश्व फुटबल संगठनले ल्याएका स्वास्थ्यका सबै नियम पालना गरेर गराइएको खेलमा नेपाल र भारतले १—१ गोल गर्न सके ।

बिहीबार अपरान्ह दशरथ रंगशालामा भएको घरेलु दर्शकको उत्साहजनक उपस्थितिबीच भएको खेलमा नेपालले पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा बराबरीमा चित्त बुझाएको हो। 

खेलको ६० औं मिनेटमा भारतीय खेलाडीले गोल फर्काए खेललाई १–१ को बराबरीमा पुर्‍याएका हुन्। कप्तान सुनिल क्षेत्रीले १८ यार्ड बक्स बाहिरबाट गरेको सशक्त प्रहारलाई नेपाली कप्तान तथा गोलकिपर किरण चेम्जोङले माथि पञ्च गरेका थिए । तर, सोही बल गोल लाइन नजिकै ड्रप हुने क्रममा अनिरुध थापाले ट्याप इन् गर्दै भारतका लागि बराबरी गोल गरे । नेपालका प्रमुख डिफेन्डर चोटिल भएर मैदान बाहिर भएको मौकाको फाइदा उठाउँदै सुनिलले सशक्त प्रहार गरेका थिए ।

यसअघि नेपालका लागि अञ्जन विष्टले ३६ औं मिनेटमा गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए। ​पहिलो हाफमा नेपालले गोलसँगै बल पोजिसनमा समेत पकड जमाएको थियो। भारतले पहिलो हाफमा कुनै पनि अवसर बनाउन सकेन। नेपालले भने दुई अवसर बनायो।

यता, दोस्रो हाफमा भने भारतले सुरुवातमै तीन खेलाडी परिवर्तन गर्दै खेल आफ्नो नियन्त्रणमा लियो। बाँकी समयमा दुवै टोलीले अवसर बनाए पनि कुनै गोल हुन सकेन। खेलमा नेपालका नितिन थापाले डेब्यु गरे।

च्यासल क्लब र पोखरा थण्डर्सबाट खेलेका नितिनलाई प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले खेलको ८५ मिनेटमा तेज तामाङको स्थानमा मैदानमा पठाएका हुन्। नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल आइतबार हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?