गलकोटका सुनारलाई अदालतले सुनायो आजीवन कैदको सजाय

-


     जनहित न्युज    
     श्रावण १८ गते २०७८


जिल्ला अदालत गुल्मीले एक महिला र उनका जुम्लिया दुई छोरीलाई हत्या गरेको कसुरमा बागलुङको गलकोट नगरपालिकाका ४६ वर्षीय पूर्णबहादुर सुनारलाई आजीवन कैद सजाय तोकेको छ ।

२०७६ कात्तिक १६ मा मोरङको कानेपोखरी–३ कन्काई घर भई पोखरामा बस्दै आएकी ३२ वर्षीया शिवमाया लिम्बु र उनका सात वर्षीय जुम्लिया छोरी गंगा र जमुनाको हत्या गरेको कसुरमा सुनारलाई अदालतले सजाय सुनाएको हो ।

न्यायाधीश राधाकृष्ण उप्रेतीको सुनारलाई आजीवन कैद सजायको फैसला गरेको अदालतका तहसिलदार रामबहादुर कुँवरले जानकारी दिए ।

सुनारले शिवमाया र उनका छोरीहरुलाई गुल्मीको चन्द्रकोट गाउँपालिकाको हर्राचौरमा रहेको जंगलमा हत्या गरेका थिए ।

हत्यामा उनका भाइ हर्कबहादुर सुनार र एक नाबालकको पनि सहायता लिएको प्रहरीले जनाएको छ। हर्कबहादुर फरार छन् । नाबालकलाई एक वर्षको कैद हुने गरी फैसला भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?