
ओलम्पिकलाई विश्व खेलकुदको महामेलाको रूपमा लिइन्छ । यति बेला यो मेलाको ३२ औँ संस्करण जापानको टोकियो सहरमा चलिरहेको छ ।
टोकियो ओलम्पिकमा ३३ खेलका ३३९ विधामा विभिन्न देशका ११ हजारभन्दा बढी खेलाडीको सहभागिता छ ।
जुलाई २३ देखि सुरु भएको ओलम्पिक अगस्ट ८ मा सकिँदै छ । आजसम्म आइपुग्दा अधिकांश खेलको पदक विजेता टुंगो लागिसकेको छ ।
यो समाचार तयार पार्दासम्म चीन २४ स्वर्ण, १५ रजत र १४ कास्यसहित कूल ५३ पदक जित्दै शीर्ष स्थानमा रहँदा उसलाई २० स्वर्ण, २४ रजत र १७ कास्यसहित कूल ६० पदक हात पारेको अमेरिकाले पछ्याइरहेको छ ।
ओलम्पिक पदक कुनै खेलाडीमा मात्र नभइ उसले प्रतिनिधित्व गर्ने राष्ट्रको प्रतिष्ठासँग पनि जोडिएको हुन्छ ।
कोरोना महामारीका कारण एक वर्ष पछाडि धकेलिएको टोकियो ओलम्पिक पदक निमार्णको समयदेखि नै चर्चामा रह्यो ।
जापानले पदकलाई खेलाडीको प्रतिष्ठाका साथै वातावरणसँग पनि जोड्न सफल भयो ।
ओलम्पिकमा दिइने सम्पूर्ण पदक पुराना स्मार्ट फोन तथा ल्यापटपबाट निमार्ण गरिएको हो । यसका लागि जापानले अभियान नै चलाएको थियो । सन् २०१७ को अप्रिलबाट सुरु भएको अभियानमा प्रत्येक जापानीलाई आफूसँग भएका पुराना स्मार्टफोन वा ल्यापटप दिएर ओलम्पिकको हिस्सा बन्न आग्रह गरिएको थियो ।
अभियानका लागि नगरपालिका लगायत सरकारी निकायसँगको समन्वयमा विभिन्न स्थानमा संकलन केन्द्र पनि स्थापना भएको थियो ।
आफ्नो देशमा हुन लागेको ओलम्पिकका लागि जापानी जनताले पनि खुलेरै समर्थन गरे । सन् २०१९ को मार्चसम्म सञ्चालन भएको अभियानमा लगभग ७८ टन पुराना स्मार्टफोन तथा ल्यापटप संकलन भएको थियो ।

ती सामग्रीबाट लगभग ७१ पाउन्ड सुन, ७ हजार ७०० पाउन्ड चाँदी र ४ हजार ८५० पाउन्ड ब्रोन्ज निकालिएको थियो ।
यही धातुबाट बनेका पदक अहिले खेलाडीलाई प्रदान गरिँदै छ तर यो अवधारणा नयाँ भने होइन ।
यसअघि सन् २०१६ मा ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न ओलम्पिकका लागि पनि ३० प्रतिशत पदक पुराना कारको पार्टपुर्जा लगायतबाट निमार्ण गरिएको थियो।
टोकियो ओलम्पिकमा भने सबै पदक पुराना स्मार्टफोन र ल्यापटपबाट बनाएर जापानले खेलकुदका साथै वातावरणीय पक्षलाई पनि ध्यान दिन सकिने सन्देश दिएको छ।
जापानको यो कदम आगामी संस्करणका ओलम्पिक लगायत अन्य खेलकुद प्रतियोगिताका लागि पनि नजिर बन्न सक्छ ।