आपतकालिन अवस्था अगष्ट २ तारिखबाट जापानका थप ४ प्रान्तहरुमा विस्तार भएको छ ।
अगस्ट २ तारिकदेखि फेरि जापानका साईतामा, चिबा, खानागावा र ओसाकामा पनि आपातकाल बिस्तार भएको छ । यस अघि टोकियो र ओकिनवा केनमा मात्रै सिमित रहेको आपतकाल अब ६ वटा केनमा बिस्तार भएको छ । यस पटकको आपतकाल अगस्ट अन्त्यसम्मका लागि घोषणा गरिएको छ ।
यसका अलवा, होक्काईदो, ईसिखावा,ह्योगो, क्योतो र फुकुओका केनमा अर्धआपतकाल ( मानएनबोसीज्युतेनसोचि)कार्यन्वयन गरिएको छ । यसको अवधि पनि तत्काललाई यहि महिनाको अन्त्यसम्म कायम रहनेछ । यसका साथै पहिले देखिनै कायम टोकियो र ओकिनवाको आपतकालिन् अवस्थाको समय पनि थप गरि यहि महिनाको अन्त्यसम्म पुर्याउने निर्णय गरिएको छ ।
पछिल्लो समय कोभिड संक्रमण जापानमा अत्यन्तै तिब्र बनिरहेको छ । यहाँ दैनिक १० हजारभन्दा बढि संक्रमितहरु पुष्टि हुने गरेका छन् । जापानमा अहिले कोभिड सुरुवात भएदेखि यताकै अत्यन्तै जोखिमरूर्ण अवस्था सिर्जना भएको छ । टोकियो लगायतका सहरहरुमा अस्पत्तालको बेड अभावका कारण अधिकांस बिरामीहरु घरमै बस्न बाध्य छन् । स्वास्थ्य क्षेत्र अत्यन्तै दवावपूर्ण समयको सामना गरिरहेको छ ।
आइतबार, टोकियोमा ३ हजार तथा खानागावामा १२ सय भन्दा बढी संक्रमित पुष्टि भएका छन् । जुन संख्या अघिल्लो साताहरुको तुलनामा उच्च हो । साइतामा र चिबामा क्रमश ८९९ र ७६७ नयाँ केसहरु पुष्टि भएका छन् । दुबै आंकडा यी प्रान्तहरुको लागी दोस्रो उच्चतम हो ।
भोजन प्रतिष्ठानहरु बेलुका ८ बजे भित्रमा बन्द गर्न भनिएको छ र रक्सी बेच्न अनुमति छैन । जापान सरकारले चेतावनी दिइरहेको छ कि अत्यधिक संक्रामक डेल्टा भ्यारियन्टले जापानको स्थितिको लागी अधिक जोखिम पैदा गरिरहेको छ ।
स्वास्थ्य मन्त्री तामुरा नोरीहिसाले जनतालाई उच्च जोखिम व्यवहार बाट बच्न आग्रह गरेका छन र उनीहरुको समझदारी र सहयोगको लागी आह्वान गरेका छन् ।