जापानको तीन सहरमा नेपथ्य गुन्जिदै, कन्सर्टमा हाउसफुल हुने गरि टिकट बिक्री भएको आयोजकको भनाई

-


     जनहित न्युज    
     श्रावण १६ गते २०८०


नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गरेको लोकरक ब्याण्ड नेपथ्यले जापानको तीन सहरमा लोकरक गुञ्जाउने छ ।
राजधानी टोकियोमा पहिलो कन्सर्ट दिएपछि लगत्तै फुकुओका र ओसाका सहरका मञ्चहरुमा आफुलाई उभ्याउने हिसाबले १४ सदस्यीय टोली यसै अगस्त महिनाको पहिलो साता जापान आउन लागेको भिजोनिया कम्पनीका निर्देशक सुभाष लामिछानेले जानकारी दिए ।
“नेपथ्यले टोकियो स्थित ‘तोयोसु पिट’मा अगस्त ८ तारिखका दिन आफुलाई प्रस्तुत गर्नेछ ।” लामिछानेले भने-“ब्याण्डले अगस्त १२ तारिखका दिन ‘फुकुओका सिभिल हल’ र अन्तिममा अगस्त १७ तारिखका दिन ओसाकास्थित ‘नाम्बा ह्याच’मा नेपाली लोकरक गुञ्जाउने छ ।”
अनलाईनबाट सोचेभन्दा बढि टिकट विक्रि भइसकेको जानकारी दिदै निर्देशक लामिछाने भने- सोचेको भन्दा धेरै प्रयोगकर्ता र रेस्पोन्स पाउँदा हामी खुशीसँगै उत्साहित छौं, अब टिकट किन्न टाढा धाइरहनुपर्ने अवस्था अन्त्य गरेर चाहेको समयमा अनलाइनमै किन्ने व्यवस्था गरेकाले धेरै जनाले सहज भएको छ ।’
‘कन्सर्ट हाउसफुल हुने कुरामा कुनै शंका छैन, टिकट विक्रि कति दिन अघि सकिन्छ भनेर हामीले दिनकै टिकट विक्रि संख्या चेक गरिरहेका छौं, त्यसैले कन्सर्टमा आउन चाहने सबैलाई समयमै टिकट लिन अनुरोध गर्छौं ।’ लामिछानेले अनुरोध समेत गरे ।
प्रविधि प्रयोगमा बानि नबसेका व्यक्तिहरुका लागि केहि प्रक्रियामा असहजता भए जुनसुकै समयमा फोन सम्पर्क गरेर सहजिकरण व्यवस्था समेत मिलाइएको लामिछानेको भनाई छ ।
सन् १९९८ मा नेपथ्य पहिलोपटक जापानमा प्रस्तुत भएको थियो । पछिल्लोपटक ब्याण्डले आफुलाई सन् २०१८ मा त्यहाँस्थित प्रसिद्ध ‘टोकियो डोम’ मा प्रस्तुत गरेको थियो । अन्तर्राष्ट्रिय पहिचान बनाएको त्यो प्रसिद्ध मञ्चमा प्रस्तुत हुनपाउनु आफैँमा नेपथ्यका लागि कोशेढुँगा थियो ।
जापानसंग जोडिएका मिठा यादहरुमध्ये केही बर्ष अघि टोक्यो डोममा पाएको भब्य मायाको अनुभूतिको पनि अविष्मरणीय रहेको ब्याण्डका अगुवा एवं मुख्य गायक अमृत गुरुङ भोगाइ छ ।
आफुहरु जुनसुकै परिस्थिती र स्वरुपमा पुग्दा पनि जापानका दर्शकहरुले नेपथ्यलाई सदैव न्यानो हृदयका साथ स्वागत गर्दै आएको अमृत सुनाउँछन् ।
लामो समयदेखि नेपाली तन्नेरीहरुका लागि आर्थिक अवसरको हिसाबले आकर्षक गन्तब्य जापान पछिल्लो समय भने उच्च शिक्षाका लागि पनि उल्लेख्य संख्यामा नेपाली विद्यार्थी पुग्ने थलो बन्दै गएको छ । यसरी आफुसँगै नेपाली पहिचान पनि बोकेर उता पुग्ने तन्नेरीहरुले नेपाली लोक भाकामा आधारित रहेर रक संगीतका हिसाबले प्रस्तुत गरिने नेपथ्यका गीतहरुलाई मनपराउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?