
नेपाली कांग्रेस नेतृत्वले पौष १० गते आइतवार दिउसो एक बजेसम्म पनि गठबन्धनको प्रमुख सहयात्री माओवादीलाई प्रम छोड्न मानेन। उसले ८९ सीट ल्याएको पार्टी कांग्रेसको प्रम र राष्ट्रपति दुबै हुनुपर्छ भन्ने अडान कायम राख्यो। “साथीहरु मानेनन” भनेर शेर बहादुर देउवाले सत्ताको गोटी आफुसंगै राख्ने चाल चले । यस अघिको चुनावमा प्रत्यक्षतर्फ २३ सिट मात्र जितेको कांग्रेसलाई सत्तामा पुराउने माओवादी नै थियो भन्ने हेक्का समेत राख्न सकेनन ।
सायद कांग्रेसको रणनीति थियो – समय घटेट्दै लैजाने र राष्ट्रपतिले दिएको आइतवार पॉच बजेसम्मको समय सीमा कटाइदिने । अन्तिम समयसम्म झुलाएपछि एमालेतिर गए पनि नयाँ गठबन्धन निर्माण हुन सक्दैन भन्ने कांग्रेसको आकलन थियो होला । यस्तो रणनीति बनाएर बसेको कांग्रेस दुइ तीन घण्टा मै नयाँ गठबन्धनबाट प्रचण्डले सात पार्टीहरु र ३ जना स्वतन्त्र सांसद सहित १६९ जना सांसदको समर्थनमा प्रमको दाबी शितल निवासमा पेश गरेपछि छॉगाबाट खसे जस्तै भयो ।
सबै पावर कांग्रेसमै राख्न खोज्दा अर्थात भुइमा खसेको समेत टिप्न खोज्दा, पोल्टाको समेत पोखियो। बढी लोभ गर्दा कांग्रेसले संघीय सरकार, सातबटै प्रदेश सरकारहरू, राष्ट्रपति, सभामुख, राजनैतिक नियुक्तिहरू लगायत सबै पावर सेन्टरहरू गुमाउनु पर्यो र संसदमा सबैभन्दा ठूलो पार्टी अब प्रतिपक्ष बेन्चमा बस्नुपर्यो ।
नेपालको सम्बिधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढ़ी दलले सरकारको नेतृत्व गर्न दावी प्रस्तुत गर्न नसकेको अवस्थामा सम्बिधानको धारा ७६ (३) अनुसार संसदको सबैभन्दा ठूलो दलको नेतालाई राष्ट्रपतिले प्रम नियुक्ति गर्ने व्यवस्था छ । सायद कांग्रेस सभापति तथा संसदीय दलका नेता शेर बहादुर देउवा यही पर्खाइमा थिए ।
त्यसपछि बिगत जस्तै सांसद ख़रीद बिक्री र शक्तिमा लेनदेन गरेर भएपनि बिश्वासको मत लिने देउवा पक्षीय कांग्रेसको योजना थियो होला । तर बिडम्बना राष्ट्रपति र प्रम दुबै पद लिने कांग्रेसको लोभी मनमा अमिलो पानी खनियो, अन्तिम ३-४ घण्टाको समय छदै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा संसदीय दलका नेता क. प्रचण्डले “गठबन्धनको औचित्य सकियो” भनेर शुरूमा खुमलटार फर्किएका तर पछि बाटैबाट सिधै बालकोट हिडेपछि नेपाली कांग्रेसको योजना पूर्णतया असफल भयो ।
अहिलेको सत्ता गठबन्धन २-३ घण्टाको सम्बादले मात्र निर्माण गरेको पक्कै होइन। यसका पछाडि नेताहरूको ठूलो मेहनत थियो। यसपालीको चुनावमा जनताले कुनै पनि पार्टीलाई एकल सरकार निर्माण गर्न बहुमत दिएका थिएनन । जब कुनै पनि पार्टीको एकल बहुमत आएन र बाम-लोकतान्त्रिक गठबन्धनले पनि सुबिधाजनक बहुमत ल्याउन सकेन, तबदेखि नै अन्य दललाई पनि साथ लिएर प्रचण्डकै नेतृत्वमा बाम बाहुल्य गठबन्धनको सरकार निर्माण गर्न पनि सकिन्छ भनेर दुवै तर्फका अध्यक्षसित दोस्रो पुस्ताका नेताहरूले पार्टीभित्र निरन्तर सम्पर्क र सम्बाद गरिरहेका थिए ।
संसदमा दोस्रो ठूलो दलको नेता नेकपा एमालेका अध्यक्ष के पी ओलि नेकपा माओवादीका नेताहरुसित सम्पर्कमा हुनुहुन्थ्यो । बहस र सम्बाद चलिरहेको थियो र एमालेबाट पनि आन्तरिक दवाब अध्यक्ष ओलिलाई परेको थियो। शुरू शुरूमा अध्यक्ष ओलि गठबन्धनले के गर्छ, पर्ख र हेरको मुडमा हुनुहुन्थ्यो । यसै बीचमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्ग्देन, जसपा संघीय परिषद्का अध्यक्ष अशोक राई, जनमत पार्टीका अध्यक्ष सिके राउतसित र माओवादीका दोस्रो पुस्ताका नेताहरूसित सम्बाद चलिरहेको थियो ।
त्यसैको परिणाम थियो २-३ घण्टाको भेटघाट मै अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार निर्माण गर्ने सत्ता गठबन्धन र चमत्कारिक निर्णय । अहिले आएर कांग्रेसको शेखर-गगन समूह माओवादीले “गठबन्धन तोड्यो” “बिश्वासघात गर्यो” भनेर उल्टो आरोप लगाइरहेका छन्, झट्ट हेर्दा सही हो जस्तो लागे पनि त्यो आरोप ग़लत छ। प्रमूख कुरा, गठबन्धनमा एकता क़ायम गर्न नसक्नु कांग्रेसको ठूलो कमजोरी थियो। नेपाली कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै पद आफूसंगै राख्ने निर्णय उसैलाई आत्मघाती हुन पुग्यो ।
वास्तवमा भन्ने हो भने कांग्रेसमा शुरुदेखि शेखर-गगन समूह गठबन्धनको पक्षमा थिएनन्। प्रदेश र संघको चुनावमा कांग्रेसको भोट क्रसिंग नहुनुमा यही समूहको हात थियो भन्न सकिन्छ। माओवादीका उम्मेदवारहरूलाई हराउन यो समूहले कतै घण्टीसित र कतै हलोसित भित्री तालमेल गरेको प्रमाण माओवादीका उम्मेदवार हारेपछि प्रष्ट देखिएको थियो। तैपनि माओवादीले असहज परिणामलाई पनि सहजरुपमा लिएको थियो ।
रबिको पार्टीले गगन थापा लगायत कतिपय कांग्रेसका उम्मेदवार उठेको क्षेत्रमा आफ्नो उम्मेदवार नउठाउनुले यो कुराको पुष्टि गर्छ। तर उनै रबि हुन् जसले चितवन -३ नम्बर क्षेत्रमा प्रचण्डलाई हराउन उठ्ने भनेको र कांग्रेसको एक पक्ष बिद्रोहमा जाने सूचनाको आधारमा सुरक्षित क्षेत्र गोरखा-२ बाट प्रचण्डलाई उठाउने माओवादी पार्टीले सही निर्णय गरेको थियो ।
मत परिणामका आधारमा भन्न सकिन्छ कि कांग्रेसले अधिकांश माओवादी उम्मेदवारलाई भोट हालेको थिएन, तर माओवादीले भने इमान्दारीपूर्बक निर्णायक भोट दिएको हुनाले प्रत्यक्षमा ५७ सीट पुर्याउन कांग्रेस सफल भएको थियो। निर्वाचन अगाडी नै ओलि, प्रचण्ड र माधवले “हामी पुराना कुरा बिर्सौं र बिगतमा हाम्रा कमजोरीहरू रहे, अब एक आपसमा आत्मालोचना गरौ र मिलेर जाऔ” भनेर फेरी बाम गठबन्धन बनाएर चुनावमा गएको भए कांग्रेसको के हालत हुनेथियो? यो कुरा देउवाले राम्रोसित बुझेर नै होला, गठबन्धनको पक्षमा उभिएका थिए ।
त्यही कुरा माओवादी र एकिकृत समाजवादीलाई पनि लागू हुन्छ। त्यसैले एकलाई अर्कोको सहयोग हुनेछ भन्ने अपेक्षा सहित बिचार नमिल्दा नमिल्दै पनि नेताहरू एक ठाउमा ऊभिएका थिए तर नेपाली कांग्रेसले इमान्दारिता देखाउन र परिस्थितिको समय सापेक्ष मूल्यांकन गर्न सकेन ।
फलस्वरूप सत्ताको नजिक पुगेर पनि देशैभरि प्रतिपक्ष बेन्चमा बस्न बाध्य हुनुपर्यो । राजनीति भनेको सायद यस्तै हुन्छ, कहिले पुर्णिमाको रात त कहिले औसीको रात ! सत्ताको नजिक पुगेको नेपाली कांग्रेस यसरी प्रतिपक्ष बेन्चमा पुग्ला भनेर कसैले कल्पना पनि गरेको थिएन।
(लेखक अर्याल नेपाली जनप्रगतिशिल मंच, यूरोपका पूर्व अध्यक्ष तथा नेकपा (माओवादी केन्द्र) प्रवास समन्वयन कमिटी सदस्य हुन् ।)



