युरोप-युरोपियन देश साईप्रसमा मंगलबार भएको मोटरसाईकल दुर्घटनामा परि एक नेपाली विद्यार्थीको मृत्यु भएको छ भने मोटरसाइकलमा सवार अर्का एकजना घाईते भएका छन ।
साईप्रस प्रहरीका अनुसार मृतक कपिलबस्तु जिल्लाका २४ वर्षीय तुलसी भुसाल रहेको र सर्लाही स्थायी घर भएकी करिब ३० वर्षीय महिला मिरा घिसिङ गम्भीर घाईते भएको जनाएको छ ।
मृतक भुषालको शव अहिले लार्नाकाको मोरतुवारीमा राखिएको छ भने घाईते भएकी मिरालाई थप उपचारका लागि राजधानी निकोसिया रिफर गरिएको साईप्रसका संचार माध्यमहरुले जनाएका छन। घटनाको बारेमा जानकारीका अनुसार दिउँसो साढे पाँच बजेको आसपासमा भएको बताइए पनि प्रहरीले मंगलवार साँझ करीब साढे ६ बजे डेरिनियाको एक्रोपोलोस राजमार्गमा उक्त घटना भएको जनाएको छ ।
प्रारम्भिक अनुसंधानका अनुसार मृतकले आफुले चलाएको सवारीको गति नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको बताईएको छ । मोटर साइकलमा सवार दुवैजना पर्खालमा ठोक्किएर भुषालको घटनास्थल मा नै मृत्यु हुन गएको प्रहरीले जनाएको छ ।
त्यहाको सवारी नियम विपरित दुबैजनाले हेलमेट प्रयोग नगरेको प्रहरीले बताएको छ । नेपाली अबैतनिक बाणिज्य राजदुताबास साईप्रसका प्रमुख डाक्टर रामजिवन पन्जियारका अनुसार मृतक भुषालको परिवारसगं सम्पर्क गर्न आफु र एनआरएन साईप्रसका पूर्व संरक्षक सुबास मल्लले समन्वय गरिरहेको बताए । डा. पन्जियारले स्वर्गीय भुषालको शव साईप्रसको कानुनी प्रक्रिया पुर्याएर परिवारको सहमतिमा नै अन्तिम संस्कार गरिने बताए । साथै घाईते मिराको स्वास्थ्य अवस्थामा केही सुधार आएको पनि जानकारी दिए ।
कन्सुलेट डा. पन्जियारले साईप्रसमा रहेका नेपाली चालक , डेलिभरी गर्ने सबैले सवारी चलाउदा सर्तकताका साथ चलाउनका लागि आग्रह गरेका छन ।