बागलुङकी सपनाको‘सपना’ पुरा भो, बनिन डेनमार्कमा पहिलो नेपाली महिला ‘बस चालक’

-


     जनहित न्युज    
     भाद्र १६ गते २०७८


बागलुङकी सपना खड्का डेनमार्कमा पहिलो नेपाली महिला बस चालक बनेकी छिन् । बानपा-८ सिगाना माइत र मुलपानी घर भएकी उनले डेनमार्कमा सार्वजनिक यातायातमा एक सम्मानित पेसाको रुपमा लिइने ‘बस चालक’ को रुपमा आफूलाई उभ्याउन सफल भएकी हुन्।

डेनमार्कमा बस चालक बन्न त्यति सजिलो छैन। सबैभन्दा ठूलो बाधक भाषा बन्दै आएको छ। सवारी चालक अनुमति पत्र प्राप्त गरे पश्चात् डेनमार्कको स्थानीय डेनिस भाषामा पोख्त भएर भाषा परीक्षा उत्तीर्ण गर्नुपर्छ।

सपनाको सफलतामा श्रीमान मोहन खड्का खुशी मात्र हैनन्,दंग पनि छन्। ‘आधारभूत भाषा परीक्षा उत्तीर्ण मात्र हुन सकियो भने दक्ष काम पाउन अति सजिलो हुन्छ। त्यसैले मैले उनलाई सधैं भाषा सिक्न प्रेरेणा दिइरहे,’ उनले भने।

श्रीमानको साथ र समर्थनले नै आफू बस चालक बन्न सफल भएको सपनाले बताउँछिन्। ‘विदेशको ठाउँ साना बच्चाहरू छन्। फेरि मिलेर काम गर्नुपर्ने। बच्चाहरुलाई यथेष्ट समय पनि दिनुपर्ने, यो अवस्थामा मेरो श्रीमानले प्रोत्साहन र समय दुवै दिनुभयो। त्यसैले म आज सफल भएँ,’ उनले भनिन्।

डेनमार्क आएको छोटो अवधिमा यहाँको स्थानीय डेनिस भाषा सिकेर, दक्ष जनशक्तिको लागि चाहिने अध्ययन गरी कडा परीक्षामा उत्तीर्ण हुनु बागलुङकी सपना खड्काको लागि एक ‘सपना’ नै थियो । तर आज पूरा भएको छ । उनको लगाब तथा मेहनत प्रवासमा रहेका सबै नेपालीहरुका लागि प्रेरेणा बनेको छ। शब्द/तस्बिरः प्रकाशन ढकाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?