काठमाडौँ — नेकपा एमालेले शुक्रबार बोलाएको केन्द्रीय कमिटी बैठकमा वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालपक्ष सहभागी नहुने भएको छ । खनाल–नेपालसमूहको बिहीबार बुद्धनगरमा बसेको स्थायी कमिटी सदस्यको बैठकले केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने निर्णय गरेको हो ।
बैठकले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले निसर्त रूपमा पार्टीका सङ्गठनलाई २०७५ सालको जेठ २ गतेकै अवस्थामा फर्काउनु पर्नेमा ओलीले नवौँ महाधिवेशनबाट आएका जनसङ्गठनमा पदाधिकारी थप्ने निर्णय गरेको भन्दै बैठकमा नजाने निर्णय गरेकाे हाे ।
अहिलेकै अवस्थामा बैठकमा सहभागी नहुने निर्णय गरेको स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले जानकारी दिए।‘महाधिवेशन आयोजक कमिटीले बोलाएको बैठक हो। त्यो वैधानिक छैन्। त्यसमा हामी सहभागी हुँदैनौँ,’ उनले भने।
बैठक बहिष्कार गर्ने निर्णय सर्वोसम्मत भएको ज्ञवालीले बताए। वार्ताको प्रयास जारी राख्ने र सहमतिका लागि औपचारिक वार्ता टोली गठन गर्नुपर्ने नेपाल-खनाल समूहको माग छ।
कुनै औपचारिक छलफलबिना बैठक बोलाइएको भन्दै नेपाल-खनाल समूहले आक्रोश व्यक्त गरेको छ। सहमतिका लागि प्याकेजमा वार्ता गर्नुपर्ने ज्ञवालीले बताए। ओलीले बुधवार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकबाट केन्द्रीय कमिटीको बैठक बोलाएका थिए।
‘पार्टीको केन्द्रीय कमिटी तथा जनसंगठनलाई २ जेठ २०७५ अघिको अवस्थामा क्रियाशील तुल्याउन हामीले अघि सारेको ६ बुँदे प्रस्ताव विपरीत अध्यक्ष ओली अघि बढ्दै एकताका लागि हासिल उपलब्धिमा अवरोध पुर्याउन खोजेकाले बैठकमा सहभागी हुँदैनौँ,’ एमाले नेता भीम रावलले बताए ।
महाधिवेशन आयोजक कमिटीका नाममा पदाधिकारी थप्ने र विभिन्न निर्णय गरेको भन्दै त्यस्ता निर्णय खारेज गर्न नेपाल–खनाल समूहले माग गरेको छ । नवौँ महाधिवेशनअनुसार र पार्टीको विधानअनुसार बैठक बोलाउन यो समूहले माग गरेको छ ।
संस्थापन पक्षले भने पार्टी एकताको लागि जेठ १८ को बैठकनै डेडलाइन हुने बताएको छ । नेपाल पक्षले सर्वोच्च अदालतको फैसलाअघि ओलीसँग एकता गर्न नचाहेको बुझिएको छ ।
माधव पक्षको बैठकमा संस्थापन पक्षसँग वार्तामा रहेका नेताहरुले अहिलेसम्म भएका छलफलको बारेमा जानकारी गराएको र कुनै पनि सहमति नभएको बताएका थिए ।