
जापान सरकारले गर्मीको शुरुवातसंगै विदेशी नागरिकहरूलाई जापान प्रवेशका लागि विमानस्थलहरूमा सकारात्मक कोभिड-१९ परीक्षण परिणाम दरहरूको आधारमा तीन समूहमा वर्गीकरण गरेर कोरोनाभाइरस सीमा नियन्त्रण उपायहरू सहज बनाउने निर्णय गरेको छ।
सरकारले जुन १ तारिकदेखि विदेशी आगन्तुकहरूको संख्या दैनिक १० हजारबाट २० हजार पु¥याउने योजना बनाएको छ तर हालको क्वारेन्टाइन प्रणालीलाई यथावत् कायम राख्ने र यो गर्मी सिजनको लागि आगन्तुकहरूलाई तीन समूहमा वर्गीकरण गरि सोहि बमोजिमको कोरोनाभाइरस परिक्षण गर्ने नयाँ योजना ल्याउने लागिएको सरकारी अधिकारीहरूले बताएका छन ।
हाल जापानी नागरिकहरू सहित सबै आगन्तुक यात्रुहरूले प्रस्थान गर्नु अघि ७२ घण्टा भित्रको नकारात्मक पीसीआर वा अन्य परीक्षण प्रमाणपत्रहरू बुझाउनु पर्छ र जापानको विमानस्थलमा मात्रात्मक एन्टिजेन परीक्षणहरू गरिनुपर्ने हुन्छ।
हाल गर्न लागिएको समूहमा वर्गीकरण प्रणाली अन्तर्गत जापानले खोपको स्थितिलाई ध्यान नदिई कोभिड-१९ को संक्रमण सबैभन्दा कम सकारात्मक परिणामहरू भएका देश र क्षेत्रका मानिसहरूलाई परीक्षणबाट छुट दिनेछ।
दोस्रो कोभिड-१९ सबैभन्दा कम सकारात्मक दर भएका देश तथा क्षेत्र अन्तरगतको समूहका यात्रुहरूका लागि जापानलाई सरकारले तोकेको कोरोनाभाइरस खोपहरू ट्रिपल-इनोकुलेट गरिएको खण्डमा कोरोनाभाईरस परिक्षण आवश्यकता नपर्ने र उच्च सकारात्मक दर भएका क्षेत्रहरूबाट आएका मानिसहरूले कोभिड-१९ परीक्षण र पोष्ट-अराइभल आइसोलेसन सहित हाल अपनाईएका सबै उपाय अवलम्बन गरिने गरि योजना ल्याउन लागिएको बताईएको छ ।
अप्रिल १० मा दैनिक आगमनको अधिकतम संख्या ७,००० बाट १०,००० पु¥याए पनि जापानको व्यवसायिक समुदायबाट अझ बढि सिमा बढाउनका लागि सरकारसँग आह्वान गरेका छन।
कोरोना महामारीका कारण लामो समयदेखि विदेशी पर्यटकको लागि आफ्नो सिमा बन्द गरेको जापानले आगामी जुनदेखि निश्चित मापदण्ड पालना गराउदै विदेशी आगन्तुकलाई पर्यटकको रूपमा स्विकार्ने भएको छ ।
यस में महिनाको अन्त्यसम्ममा आवश्यक तयारी पुरा गरि हालका लागि संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया, थाइल्याण्ड र सिङ्गापुर देशका कोभिड-१९ विरुद्दको पूर्ण मात्राको खोप लगाइएका पर्यटकहरूका लागि सानो स्तरको विदेशी आगन्तुकहरूको स्वागतको लागि परीक्षणको रूपमा भ्रमणहरू स्वीकार गरिन लागेको सरकार अधिकारीहरूले बताएका छन ।



