
प्रेस चौतारी नेपालको २४ औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी बागलुङ शाखाले फोहोर व्यवस्थापनका लागि डस्बिन व्यवस्थापन गरेको छ ।
बागलुङ नगरपालिका–१ स्थित पर्यटकीय स्थल शहिद पार्कमा फोहोर व्यवस्थापनमा सहयोग पु¥याउने उद्देश्यले स्थापना दिवसको अवसरमा पाँच थाना ठूलो डस्बिन पार्कलाई हस्तान्तरण गरिएको हो । पार्कको सरसफाइमा सहयोग पु¥याउनका लागि डस्विन व्यवस्थापन गरिएको थियो ।
स्थापना दिवस तथा पार्कमा डस्विन व्यवस्थापन कार्याक्रममा बोल्दै प्रमुख अतिथि प्रेस चौतारी नेपालका केन्द्रीय सल्लाहकार राम बहादुर जिसीले शहिद पार्कलाई नगरपालिकाले पुन व्यवस्थित बनाउनमा समेत श्रमजीवी पत्रकारहरुको हात रहेको बताउदै शहिद पार्कलाई हराभरा र फोहोर मैला मुक्त बनाउन सांकेतिक रुपमा डस्विन व्यवस्थापन गरिएको बताए ।
उहाँले शहिदहरुकै बलिदानका कारण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्राप्ति भएको भन्दै समाजलाई सकरात्मक प्रभाव पर्ने गरी पत्रकारहरुले कलम चलाई राख्नुपर्ने बताए ।
‘कहिले सरकारका विरुद्धमा सडकमा पत्रकार उत्रिए, कहिले राजनैतिक व्यवस्थाका विरुद्धमा, तर अहिले समाचारबाटै समाज, राजनैतिक दल र सरकारलाई उत्तरदायित्व बहन गर्न सिकाउने समय हो यो’ जिसीले भन्नुभयो ‘पत्रकार समय र प्ररिस्थिति अनुसार अगाडी बढ्नुपर्दछ, अहिलेको समय समाचारकै माध्यमबाट सरकार र समाजलाई सुसुचित गर्नु हो, अहिलेको सन्र्दभमा व्यावसायिक पत्रकारिता नै मुख्य उद्देश्य हो ।
’कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तारानाथ आचार्य, प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशका उपाध्यक्ष राम थापा, पत्रकार महासंघ बागलुङका सचिव विजय राना, प्रेस युनियन बागलुङका सचिव नारायण रिजाल, नेपाल आदीवासी जनजाती पत्रकार महासंघ बागलुङका सचिव डम्मर बुढामगरले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम प्रेस चौतारी नेपाल बागलुङ शाखाका अध्यक्ष नविन शिशिर विकको अध्यक्षता, कोषाध्यक्ष खेमराज गौतमको स्वागत तथा उपाध्यक्ष सृजना पन्तको सञ्चालनमा सम्पन्न भएको थियो ।



