२५ जनाभन्दा धेरै भेला हुन नपाउने (सीसीएमसीको निर्णयसहित)

- माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस

-


     जनहित न्युज    
     पौष २५ गते २०७८


सरकारले राजनीतिक भेलालगायतका भिडभाडजन्य गतिविधि नगर्न आह्वान गरेको छ । आइतबार बसेको कोभिड १९ संकट व्यवस्थापन समिति(सीसीएमसी)को बैठकले यस्तो निर्णय गरेको केन्द्रकी प्रवक्ता सहसचिव सुनिता नेपालले जानकारी दिइन् । कोरोना संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गरेर यो निर्णय भएको उनले बताइन् ।

कोभिड-१९ व्यवस्थापन समन्वय केन्द्र (सिसीएमसी)ले सार्वजनिक स्थानमा २५ जना बढी मानिस भेला हुन नपाउने निर्णय गरेको छ। 

पछिल्लो समयमा नेपालमा कोरोना संक्रमण दर दैनिक एक हजारभन्दा माथि पुग्न थालेपछि समन्वय केन्द्रले यस्तो निर्णय लिएको हो। 

समितिले होटल, रेस्टुरेन्ट, सिनेमा हल, रंगशाला र विमानस्थल र पार्कसहितका सार्वजनिक स्थानमा प्रवेश गर्न कोभिडविरद्धको खोप लगाएको कार्ड देखाउनु पर्ने निर्णय गरेको छ।

सार्वजनिक स्थानमा कडाइ गर्दै सीसीएमसीले दलहरूलाई सभा, सम्मेलन रोक्न पनि सरकारलाई सिफारिस गरेको छ। 

समन्वय केन्द्रकी प्रवक्ता एवम् सहसचिव नेपालले कोभिडको बढ्दो दरबाट नागरिकलाई जोगाउन यस्तो निर्णय लिएको बताएकी छन्। उनले केन्द्रका यी निर्णयलाई मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि कार्यान्वयनमा जाने बताइन्। 

केन्द्रले माघ १५ सम्म विद्यालय बन्द गरिने पनि जनाएको छ। केन्द्रले विद्यालय बन्द गर्न जिल्ला प्रशासन कार्यलय, स्थानीय तह र प्रदेशलाई परिपत्र गर्ने भएको छ। संक्रमण धेरै फैलिएको स्थानमा कोभिड नियन्त्रणमा गर्न कडाइ गर्न पनि सरकारलाई भनेको छ।

नेपालले स्मार्ट लकडाउनको कार्यविधि लागू गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई पत्राचार गरिने पनि बताइन्। उनले आगामी माघ ३ गतेदेखि सार्वजनिक स्थानमा प्रवेश नपाउने गरी नियम लागु गरिने बताइन्। 

सीसीएमसी समन्वय केन्द्रले सार्वजनिक स्थानमा एन्टिजेन परीक्षण गर्न पनि स्वास्थ्य मन्त्रालयलाई भनेको छ। केन्द्रले होल्डिङ सेन्टर फेरि सञ्चालन गर्न भनेको छ। ​

माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस

कोभिड संक्रमण बढ्न थालेपछि कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले देशभरका विद्यालयहरू माघ १५ गतेसम्म बन्द गर्न सरकारलाई सिफारिस गरेको छ ।

आइतबार बसेको सीसीएमसी व्यवस्थापन समितिको बैठकले १८ वर्षमुनिका बालबालिकालाई लक्षित गर्दै हिउँदे बिदाको रुपमा विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयसमक्ष सिफारिस गरेको हो । देशभरका विद्यार्थीहरूले पूर्ण रुपमा खोप नलगाएको र संक्रमण बढ्दै गएकोमा रोकथामका लागि यस्तो सिफारिस गरिएको सीसीएमसी प्रवक्ता सुनिता नेपालले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?