
डाेल्पा : नेपाली कांग्रेसका नेता तथा गिरिजाप्रसाद कोइराला फाउन्डेसनका सभापति डा. सुनीलकुमार शर्माले डोल्पाका जेहेनदार तथा विपन्न परिवारका विद्यार्थीलाई लक्षित गरी एक करोड १४ लाख रुपैयाँ बराबरको छात्रवृत्ति घोषणा गरेका छन्।
डोल्पाबाट एसईई उत्तीर्ण विद्यार्थीलाई स्वास्थ्य शिक्षाका ६ विधामा काठमाडौं मेडिकल कलेज (केएमसी) र नोबेल मेडिकल कलेज, विराटनगरमार्फत छात्रवृत्ति उपलब्ध गराउने उनले घोषणा गरेका हुन्। शुक्रबार दुनैमा आयोजित निःशुल्क स्वास्थ्य शिविरका क्रममा शर्माले छात्रवृत्ति घोषणा गरे।
कर्णालीका दुर्गम बस्तीमा स्वास्थ्य सेवा पुर्याउने अभियानअन्तर्गत आयोजित शिविरमा एकै दिन करिब दुई हजार नागरिकले विशेषज्ञ स्वास्थ्य सेवा तथा चिकित्सकीय परामर्श लिएका छन्। शिविरमा १०३ जनाको ईसीजी, १६३ जनाको प्रयोगशाला परीक्षण, ३४९ जनाको भिडियो एक्सरे र २०४ जनाको इको परीक्षण गरिएको आयोजकले जनाएको छ। २७ जनाको दाँत निकालिएको छ भने थप उपचार आवश्यक देखिएका ८२ जनालाई केएमसीमा रिफर गरिएको छ।
शिविरमा उपचारका लागि आएका बिरामीसँग प्रत्यक्ष भेटेर स्वास्थ्य समस्याबारे जानकारी लिएका शर्माले शिविरमा सहभागी हुन नसकेका थप १०० जनाको केएमसीमा निःशुल्क उपचार गर्ने र पाँच जनाको निःशुल्क मिर्गौला प्रत्यारोपण गर्ने घोषणा पनि गरेका छन्।
‘दुर्गम क्षेत्रका नागरिकले सामान्य उपचारका लागि पनि तीन–चार दिन पैदल हिँड्नुपर्ने अवस्था दुःखद छ। उनीहरूको उपचारका लागि म जस्तोसुकै योगदान गर्न तयार छु,’ शर्माले भने।
काठमाडौंमा उपचारका लागि आउने बिरामीलाई पाँच लाख रुपैयाँ बराबरको औषधि आफ्नै खर्चमा उपलब्ध गराउने तथा आर्थिक अवस्था कमजोर भएका बिरामीलाई अस्पताल भर्ना भएदेखि डिस्चार्ज हुँदासम्म खानाको व्यवस्था गरिदिने उनले प्रतिबद्धता जनाएका छन्।
केएमसीमा रिफर गरिएका बिरामीको मिर्गौला प्रत्यारोपण र ओपन हार्ट सर्जरीबाहेक अन्य शल्यक्रिया निःशुल्क गरिने आयोजकले जनाएको छ। औषधिको खर्च भने बिरामीले व्यहोर्नुपर्ने व्यवस्था छ।
भौगोलिक विकटता र आर्थिक अभावका कारण विशेषज्ञ स्वास्थ्य सेवाबाट वञ्चित नागरिकलाई लक्षित गरी सञ्चालित शिविरमा महिला, बालबालिका र ज्येष्ठ नागरिकको उल्लेख्य सहभागिता थियो। शिविरमा सहभागी हुन कतिपय नागरिक तीन–चार दिन पैदल हिँडेर दुनै पुगेका थिए।
यस अभियानअन्तर्गत मंसिर १३ गते रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–राडी बजार र मंसिर १५ गते सल्यानको बागचौर नगरपालिकामा पनि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने आयोजकले जनाएको छ। ती शिविरबाट थप उपचार आवश्यक पर्ने बिरामीलाई केएमसीमा रिफर गरी उपचार तथा शल्यक्रियाको व्यवस्था मिलाइनेछ।
शर्माको स्वामित्वमा रहेका केएमसी र नोबेल मेडिकल कलेजमार्फत यसअघि पनि असहाय, दलित, आदिवासी तथा विपन्न परिवारका एक हजारभन्दा बढी विद्यार्थीले छात्रवृत्तिमा चिकित्सा शिक्षा अध्ययन गर्ने अवसर पाइसकेको आयोजकले जनाएको छ।
‘जनसेवा भाषणमा होइन, व्यवहारमा देखिनुपर्छ’ भन्ने मान्यतासहित दुर्गम तथा आर्थिक रूपमा कमजोर समुदायसम्म स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको पहुँच विस्तार गर्ने अभियानलाई निरन्तरता दिइने शर्माले बताएका छन्।



