
जीवनमा धेरै मानिसको चाहना उचाइमा पुग्ने, नाम कमाउने र सफलताको शिखर चुम्ने हुन्छ। तर एक स्रष्टाको चाहना भने त्यसको ठीक विपरीत छ। उनी शिखरमा होइन, फेदमा बसेर जीवन बिताउन चाहन्छन्। उनका लागि शिखरमा पुगेर केही समय रमाउनुभन्दा सामान्य मानिससँग घुलमिल भएर सन्तुष्ट जीवन बाँच्नु ठूलो कुरा हो।
‘म चाहिँ फेदमा जिउन चाहन्छु। फेदमा जिउँदा सबै मान्छे भेटिन्छन्। शिखरमा भेटेको मान्छे एकछिन मात्रै हुन्छ,’ उनले भने।
उनले आफ्नो साहित्यिक यात्रा, प्रवासको अनुभव, नेपाली साहित्यको अवस्था, समाजसेवाप्रतिको रुचि र जीवनबारेको दृष्टिकोण खुलेर व्यक्त गरे।
भोजपुरमा बाल्यकाल बिताएका उनले सानैदेखि लेख्न थालेका हुन्। पहिलो कविता कहिले लेखे भन्ने उनलाई ठ्याक्कै सम्झना छैन। तर चार–पाँच कक्षामा पढ्दातिरै लेखनमा रुचि जागेको उनको सम्झना छ। ‘आमा’ शीर्षकको कथा पनि उनले सानैमा लेखेका थिए, जुन एउटा पत्रिकामा प्रकाशित भएको थियो।
उनको बाल्यकाल बितेको भोजपुरको पोखरे लाइन साहित्य, राजनीति र सङ्गीतको प्रभाव रहेको ठाउँ थियो। मञ्जुल र प्रदीप नेपालजस्ता व्यक्तित्वको घरपरिवार र परिवेशसँग नजिक रहेर हुर्किने अवसर पाएका उनले त्यही वातावरणलाई आफ्नो सिर्जनात्मक चेतनाको जग मानेका छन्।
‘हाम्रो टोल नै साहित्यिक, सङ्गीतमय र राजनीतिक वातावरण भएको ठाउँ थियो। वरिष्ठ दाइहरूका हातमा सधैँ पत्रपत्रिका देखिन्थे। त्यही पढ्दै जाँदा लेख्न मन लाग्यो,’ उनले सुनाए।
विद्यालयमा हुने साहित्यिक प्रतियोगितामा सहभागी हुँदै उनको लेखन यात्रा अघि बढेको थियो। पछि लेखनसँगै सामाजिक गतिविधिमा पनि उनको संलग्नता बढ्दै गयो।
रहरभन्दा बाध्यताले विदेश पुर्यायो
नेपालबाट हङकङ पुगेको उनको यात्रा भने रहरभन्दा बढी बाध्यताको उपज थियो। काठमाडौँमा बसेर लेखन र अन्य गतिविधिमा सक्रिय हुँदाहुँदै पनि आर्थिक अवस्था, बेरोजगारी र तत्कालीन सामाजिक परिस्थितिले उनलाई विदेशिन बाध्य बनायो।
हङकङ जानुअघि उनी साउदी अरब पनि पुगेका थिए। त्यसबेला काठमाडौँको अवस्था अहिलेको जस्तो नभएको उनको अनुभव छ। रोजगारीका अवसर सीमित थिए। बाहिरबाट आएका मानिसलाई कोठा पाउनसमेत कठिन थियो। घरधनीसँग कोठा माग्न र आफ्नो अवस्था बुझाउन निकै सङ्घर्ष गर्नुपर्थ्यो।
’धेरै कुरा बाध्यताले विदेश जानुपर्ने अवस्था थियो। थोरै रहर पनि थियो। त्यसबेला नेपालमा राम्रो लुगा, जुत्ता लगाउन पाउनु पनि ठूलो कुरा हुन्थ्यो। विदेशबाट आएका सामानप्रति आकर्षण थियो,’ उनले विगत सम्झिए।
नेपाल छोडेर विदेश जाँदा आफूलाई निकै पीडा भएको उनले बताए। त्यसबेला उनी लेखन र सिर्जनामा सक्रिय थिए। आफ्ना रचना पत्रपत्रिकामा प्रकाशित हुन थालेका थिए। त्यही समयमा विदेशिनुपर्दा आफूले बनाउँदै गरेको साहित्यिक पहिचान र सिर्जनाको संसार छाड्नुपरेको विषादपूर्ण अनुभूति भएको उनको भोगाइ छ।
प्रवासमा नेपाली साहित्य, अलमलको अवस्था
हङकङमा डेढ दशक बढी समय बिताइसकेका उनी त्यहाँको नेपाली साहित्यलाई अझै पनि नेपालकेन्द्रित मान्छन्। प्रवासमा रहेर पनि नेपाली समाज, संस्कृति, पहिचान र नेपालको परिवेशलाई साहित्यमा उतार्ने अग्रज स्रष्टाहरूले महत्त्वपूर्ण काम गरेको उनको मूल्याङ्कन छ।
देश सुब्बा, राजकुमार राई, टङ्क सम्बाहाम्फे, भूपेन्द्र चेम्जोङ, नरेश सुनुवार, किशन राईलगायतका स्रष्टाले हङकङमा नेपाली साहित्यको विकासमा योगदान गरेको उनले स्मरण गरे। उनीहरूका सिर्जनामा नेपालसँगै हङकङको जनजीवन, गोर्खा इतिहास, जनजाति र प्रवासी नेपालीका अनुभवसमेत समेटिएको उनको भनाइ छ।
अहिले भने हङकङको साहित्यिक गतिविधिमा केही अलमल देखिएको उनको टिप्पणी छ। उनका अनुसार साहित्यमा सिर्जनाको गहिराइभन्दा प्रचार र सम्पर्कको प्रभाव बढी देखिन थालेको छ।
‘साहित्य सम्पर्कको आधारमा चल्ने विषय होइन। लेख्ने मान्छेको सिर्जना र अध्ययनको मूल्याङ्कन हुनुपर्छ,’ उनले भने।
उनले साहित्यमा रुचि राख्नु र वास्तविक लेखन क्षमता विकास गर्नु फरक कुरा भएको पनि बताए। उनका अनुसार रहरले लेखनमा आउनेहरू धेरै भए पनि अध्ययन, साधना र विधागत ज्ञानमा पर्याप्त ध्यान दिनेहरू कम छन्।



