गल्कोट समाज जापानको नवौँ केन्द्रीय अधिवेशन जुलाइ ३० मा: क्षेत्रीय अधिवेशन जुन ३० हुँदै

-


     जनहित न्युज    
     असार १५ गते २०८३


टोकियो, जापान ।
जापानमा क्रियाशील गल्कोट समाज जापानले आफ्ना सम्पूर्ण क्षेत्रीय समिति र नवौँ केन्द्रीय अधिवेशनको मिति सार्वजनिक गर्दै नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढाएको छ।
समाजका महासचिव दिलीप कँडेलका अनुसार संस्थाको विधान र वार्षिक कार्यतालिकाबमोजिम जापानभर रहेका सम्पूर्ण क्षेत्रीय समितिहरूको अधिवेशन आगामी २०२६ जुन ३० (असार १६) मा एकै दिन सम्पन्न हुनेछ। त्यस्तै, संस्थाको नवौँ केन्द्रीय अधिवेशन आगामी २०२६ जुलाई ३० (साउन १५) मा आयोजना गर्ने निर्णय गरिएको छ। यस अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नुका साथै संगठन विस्तार, संस्थागत सुदृढीकरण र भावी कार्ययोजनामा महत्त्वपूर्ण निर्णय लिने लक्ष्य राखेको छ।
स्थापनाकालदेखि नै जापानमा रहेका गल्कोटवासी र सम्पूर्ण नेपाली समुदायबीच आपसी सद्भाव, एकता र परोपकारी गतिविधि गर्दै आएको गल्कोट समाजले आफूलाई समुदायको साझा संस्थाको रूपमा स्थापित गर्न सफल भएको छ। समाजले आफ्नो संस्थागत उचाइका लागि जापानवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको साथ, सहयोग र विश्वास नै मुख्य आधार रहेको भन्दै सम्पूर्ण सल्लाहकार, पूर्वपदाधिकारी, सदस्य तथा शुभेच्छुकहरूमा कृतज्ञता व्यक्त गरेको छ।
अधिवेशनका अवसरमा संस्थाको वार्षिक तथा प्रगति प्रतिवेदन प्रस्तुत हुने भएकाले सक्रिय सहभागिता जनाएर रचनात्मक सुझाव दिन सम्पूर्ण सदस्य तथा सरोकारवालाहरूलाई समाजले विशेष अनुरोध गरेको छ। संस्थाको आगामी यात्रालाई अझ पारदर्शी, उत्तरदायी र प्रभावकारी बनाउन सबैको सक्रियता आवश्यक रहेको समाजले जनाएको छ। अधिवेशनसम्बन्धी स्थान, प्रतिनिधि चयन प्रक्रिया तथा अन्य प्राविधिक विवरणहरू सम्बन्धित क्षेत्रीय समिति र केन्द्रीय सचिवालयमार्फत यथाशीघ्र सार्वजनिक गरिने समेत जानकारी दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?