राष्ट्रपति पौडेल र जापानी प्रधानमन्त्री ताकाइचीबीच शिष्टाचार भेट: सम्बन्ध सुदृढीकरण र लगानी भित्र्याउन जोड

-


     जनहित न्युज    
     माघ २१ गते २०८२


टोकियो (जापान) । जापानको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति रामचन्द्र पौडेल र जापानका प्रधानमन्त्री तकाइची सनायबीच आज शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ। नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवका अवसरमा भएको यो उच्चस्तरीय भेटमा दुई देशबीचको दशकौँ लामो मित्रता, आपसी सहयोग र भावी सहकार्यका विषयमा गहन छलफल भएको छ।

सम्बन्ध सुदृढीकरणमा जोड 

भेटका क्रममा राष्ट्रपति पौडेलले नेपाल र जापानबीचको सम्बन्ध स्थापनाकालदेखि नै निकै प्रगाढ र मित्रवत रहेको बताउनुभयो। ७०औँ वार्षिकोत्सवलाई द्विपक्षीय सम्बन्धको ‘कोशेढुङ्गा’ को संज्ञा दिँदै उहाँले भन्नुभयो, “हामीप्रति जापान सरकारको निरन्तर सहयोग, सद्भावना र समझदारीका लागि आभारी छौं। दुई मुलुकबीचको मैत्रीपूर्ण सम्बन्ध र पारस्परिक सहयोगलाई थप सुदृढ गर्न हामी आगामी दिनमा जापानी नेतृत्वसँग मिलेर काम गर्न चाहन्छौं।”

जापानी लगानीका लागि आह्वान 

राष्ट्रपति पौडेलले नेपालको सामाजिक र आर्थिक विकासमा जापान एक प्रमुख साझेदार रहेको उल्लेख गर्दै अब लगानीमा केन्द्रित हुन आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, “नेपालमा व्यापार सहज बनाउन, विदेशी लगानी आकर्षित गर्न र नवप्रवर्तनलाई प्रवर्द्धन गर्न कानुनी, प्रक्रियागत र संस्थागत सुधार गरिसकेको छ। तसर्थ, नेपालको विकास प्राथमिकताका क्षेत्रमा जापानी लगानीको प्रचुर सम्भावना छ।”

नेपाल अति कम विकसित मुलुकबाट स्तरोन्नति हुने क्रममा रहेको सन्दर्भमा जापानबाट निरन्तर सहयोग र सद्भाव प्राप्त हुने विश्वास उहाँले व्यक्त गर्नुभयो। जापानले नेपालको मानव संसाधन, स्वास्थ्य, कृषि, पूर्वाधार र संस्कृति जगेर्ना लगायतका क्षेत्रमा पुर्‍याएको योगदानको उहाँले प्रशंसा गर्नुभयो।

निर्वाचनमा जापानले पर्यवेक्षक पठाउने

 भेटमा जापानका प्रधानमन्त्री तकाइची सनायले नेपालको स्थायित्व जापान र यस क्षेत्रकै लागि महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले नेपालमा आसन्न फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको सफलताको कामना गर्दै जापानले उक्त निर्वाचनमा पर्यवेक्षक पठाउने जानकारी दिनुभयो।

प्रधानमन्त्री सनायले लोकतन्त्रको सुदृढीकरण र सूचना प्रविधि (IT) को क्षेत्रमा जापानले नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले जापानमा अध्ययनरत नेपाली विद्यार्थी र नेपालका हिमाल चढ्ने जापानी नागरिकहरूका कारण दुई देशबीचको जनस्तरको सम्बन्ध (People-to-people relation) प्रगाढ बन्दै गएको उल्लेख गर्नुभयो।

यस्तै, राष्ट्रपति पौडेलले जापानमा चाँडै हुन लागेको आम निर्वाचनको पूर्ण सफलताको शुभकामना व्यक्त गर्नुभयो। उहाँले बुद्ध जन्मभूमि लुम्बिनीले विश्व शान्ति र भाइचाराको सन्देश दिँदै दुई देशका जनताबीच बलियो पुलको काम गरेको पनि बताउनुभयो।

सम्राटसँग भेट र अन्य कार्यक्रम 

आजै राष्ट्रपति पौडेलले जापानका सम्राट नारुहितोसँग राजकीय शिष्टाचार भेट गर्नुभएको छ। यसअघि सोमबार उहाँले:

  • जापानका व्यापारिक समुदायका सदस्यहरूसँग अन्तरक्रिया गर्नुभएको थियो।
  • जापानका परराष्ट्र राज्यमन्त्री होरी इवाओसँग शिष्टाचार भेट गर्नुभएको थियो।
  • नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठ विशेष समारोहलाई सम्बोधन गर्नुभएको थियो।
  • टोकियोस्थित नेपाली राजदूतावासको अवलोकन गर्नुभएको थियो।

जापान सरकारको निमन्त्रणामा प्रथम महिला सबिता पौडेलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार जापान आइपुग्नुभएका राष्ट्रपति पौडेल आफ्नो चार दिने औपचारिक भ्रमण पूरा गरी बुधबार स्वदेश फर्कने कार्यक्रम रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?