
Screenshot
काठमाडौं । आगामी २१ फागुनमा तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि देशभर उत्साहजनक रूपमा मनोनयन दर्ता भएको छ। निर्वाचन आयोगका अनुसार तोकिएको समयभित्र देशभरबाट कुल २ हजार ६ सय ५५ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
उम्मेदवारीको तथ्याङ्क: महिलाको संख्या कमजोर निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार उम्मेदवारी दर्ता गर्नेको संख्या ठूलो भए पनि लैंगिक हिसाबले महिलाको उपस्थिति भने निकै कम देखिएको छ। कुल उम्मेदवारमध्ये झण्डै ८९ प्रतिशत पुरुष छन् भने महिलाको हिस्सा मात्र ११ प्रतिशत हाराहारी छ।
उम्मेदवारीको प्रारम्भिक विवरण निम्न बमोजिम छ:
| विवरण | संख्या |
| कुल उम्मेदवारी | २,६५५ |
| पुरुष उम्मेदवार | २,३५२ |
| महिला उम्मेदवार | ३०३ |
(नोट: केही जिल्लाहरूमा मनोनयन दर्ताको कार्य ढिलासम्म जारी रहेकाले यो संख्या अझै बढ्न सक्ने आयोगले जनाएको छ।)
आजै प्रारम्भिक सूची प्रकाशन गरिँदै आयोगले मनोनयन दर्ता गरेका उम्मेदवारहरूको प्रारम्भिक नामावली आजै (मंगलबार) राति ८ बजेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। “कतिपय स्थानमा उम्मेदवारको चापका कारण काम जारी छ, तर हामी कार्यसूची अनुसार राति ८ बजेसम्म प्रारम्भिक सूची प्रकाशन गर्नेछौँ,” प्रवक्ता भट्टराईले जानकारी दिनुभयो।
दाबी विरोधको समय भोलि निर्वाचन कार्यतालिका अनुसार बुधबार उम्मेदवारहरूमाथि दाबी विरोध गर्ने समय तोकिएको छ। कुनै उम्मेदवार अयोग्य रहेको वा कानुनी मापदण्ड पुरा नगरेको खण्डमा भोलि कार्यालय समयभित्र उनीहरूविरुद्ध उजुरी वा दाबी विरोध गर्न सकिनेछ।
आयोगले यो निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन सबै राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूलाई आचारसंहिता पालना गर्न समेत आग्रह गरेको छ।
(श्रोतः निर्वाचन आयोग)



