
एउटा इन्जिनमा आगो लागेर आकस्मिक अवतरणको तयारी गरेको विमान दुबई उडेको छ । सोमबार राति काठमाडौंबाट दुबई उड्न लागेको फ्लाइ दुबईको विमान इन्जिनमा आगो लागेपछि केहीबेर काठमाडौं र धादिङको आकाशमा होल्ड गरिएको थियो ।
एउटा इन्जिनले राम्रो काम गरेको भन्दै चालकले उडानको अनुमति मागेका थिए । त्रिभुवन विमानस्थलका प्रमुख प्रतापबाबु तिवारीले सो विमान गन्तव्यमा लागेको जानकारी दिए । विमानमा १२० नेपाली र ४९ जना विदेशी नागरिक छन् ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै दुबई तर्फ प्रस्थान भएको जानकारी दिएका हुन्।
‘फ्लाई दुवई जहाज सुरक्षित आफ्नो गन्तव्य तिर जाँदैछ कोही चिन्ता नगर्नु होला सबैलाई शुभयात्रा,’ उनले भनेका छन्।
काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९:२३मा उडेको जहाजको एउटा इन्जिनमा आगलागी भएको थियो। काठमाडौं र ललितपुरबाट उक्त जहाजमा आगो लागेको समेत देखिएको थियो।
जहाजमा आगलागी भएपछि उसलाई नेपालकै आकाशमा होल्ड गरिएको थियो।



