विदेशीमाथि भेदभाव भएको भन्दै टोकियोमा बिरोध प्रदर्शन

-


     तिलक मल्ल    
     चैत्र २६ गते २०७९


टोकियो – जापानको अध्यागमन विभाग (इमिग्रेशन ब्युरो) ले विदेशीहरुमाथि चरम भेदभाव गर्ने गरेको र कतिपय अवस्थामा जबर्जस्ती देश निकाला गर्ने गरेको भन्दै आज आईतबार शिन-ओकुबो स्टेशन अगाडि बिरोध प्रदर्शन भएको छ ।
‘मुभिङ बियोण्ड हेट’ नामक समुहको आयोजनामा भएको सो बिरोध प्रदर्शन अपरान्ह साढे १२ बजे शिन-ओकुबो स्टेशन अगाडि भेला भई कोणसभामा परिणत भएको थियो । सो सभालाई सम्बोधन गर्दै सो समुहका संयोजक टोमी हासेगावाले जापानको इमिग्रेशनले बिदेशीहरुमाथि चरम भेदभावजन्य ब्यवहार गर्दै आईरहेको आरोप लगाए ।

उनले भने – ‘हाल जापान सरकारले शरणार्थीहरुलाई देश निकाला गर्न पाउने खालको कानून ल्याउन लागेकोले उक्त प्रावधानको बिरोधमा आवाज बुलन्द गर्दै जापान सरकारको ध्यानाकर्षण गराउन हामी यो बिरोध प्रदर्शन गरिएको हो।’

यसैगरी अर्की अभियान्ता एलिजावेथले आफु जापानमा ३३ वर्षदेखि बस्दै आएकी र बिदेशी भएकै कारण रंगको आधारमा धेरैचोटी भेदभावजन्य ब्यवहार सामना गर्नुपरेको बताईन् । जापानमै जन्मेका क्यामरुनी बालिकाद्ववयलाई देखाउँदै एलिजावेथले यी दुई बालिका शरणार्थी भएकै कारण कहींकतै अन्यत्र जान नमिल्ने र उनीहरु शिक्षादिक्षाको नैसर्गिक अधिकारबाट पनि वञ्चित हुनुपरेको बताईन् ।

उनले अर्को एक उदाहरण दिदैं ३ महिना अगाडि इमिग्रेशनमा एकजना इटाली नागरिकले आत्महत्या गरेको बताईन् । ‘जापानी नागरिकसंग बिबाहित ती इटाली पुरुषको २ जना बच्चा पनि थिए । जब उनको सम्बन्धबिच्छेद भयो, उनी होमलेश बन्न पुगे, भिसा पनि गुमाए । होमलेश भएकै अवस्थामा प्रहरीले उनलाई हिरासतमा लियो । हिरासतमै रहेको अवस्थामा उनको मृत्यु भयो । जापानी श्रीमती संगै हुँदा जिन्दगी सबै ठीकठाक चल्दै थियो जब उनी एक्लिए अनि बाँच्न पाउने अधिकार सबै खोसियो, मानवीय संवेदनशीलता जस्तो बिषयमा यो भेदभाव नभएर के हो ?’ – उनले प्रतिप्रश्न गरिन् ।

बिरोध सभामा बोल्ने अन्य वक्ताहरुले पनि जापानमा बिदेशीहरुमाथि देखिनेगरी भेदभाव हुने गरेको, शरणार्थीका आवेदकहरुलाई जबरजस्ती देश निकाला गर्ने गरेको भन्दै यसप्रकारका अन्यायपूर्ण ब्यवहारको अन्त्य हुनुपर्नेमा जोड दिएका थिए ।

जापान सरकारले विभिन्न शीर्षकमा बिश्वका विभिन्न देशहरुलाई सहयोग गर्दै आईरहेको भएता पनि बिदेशी नागरिकहरुसंग सम्बन्धित आफ्नै देशभित्रका यस्ता मानवीय संबेदना भित्र पर्ने समस्याहरुप्रति भने उदासिन रहँदै आएको उनीहरुले आरोप लगाएका थिए ।

विदेशीमाथि गरिने भेदभावको अन्त्य गर, अन्यायपूर्ण देश निकाला कार्य बन्द गर, हाम्रा आवाजहरुलाई बुलन्द गर्न हामी सबै एक हौं, जस्ता नाराका साथ बिरोध प्रदर्शन सम्पन्न गरिएको थियो । कोण सभा पश्चात शिन्ज्युकु कुरिचु कितासान्मोमिजी पार्कमा पुगेर बिरोध र्‍याली समापन गरिएको थियो ।

उक्त समुहले खासगरी इमिग्रेशनसंग सम्बन्धित भिसा, शरणार्थी प्रकरण लगायतका बिषयमा अन्यायमा परेका विदेशीहरुको सहयोगमा आफ्ना गतिविधि गर्दै आईरहेको बताईएको छ । यसअघि पनि विभिन्न समयमा बिरोध प्रदर्शन कार्यक्रम गर्दै आईरहेको सो समुहले बिदेशीहरुको बाक्लो बस्ती रहेको शिन-ओकुबो स्टेशनलाई यसपटक केन्द्र मानि बिरोध प्रदर्शन गरेको थियो । सन् २०१९ मा स्थापित ‘मुभिङ बियोण्ड हेट’ समुहमा धेरजसो जापानीहरु रहेको बताईएको छ ।(मल्ल जापानबाट प्रकाशित हुने नेपाली पत्र र समुद्रपारि डटकमको प्रधानसम्पादक हुन )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?