गलकोटको न्यू लाईफ बोर्डिङले पायो अन्तर्राष्ट्रिय गुणस्तर (आइएसओ)को मान्यता

-


     जनहित न्युज    
     फागुन ३० गते २०७९


गलकोट स्थित न्यू लाईफ बोर्डिङ सेकेण्डरी स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर मान्यता प्राप्त गरेको छ । सोमबार न्यू लाईफ बोर्डिङ सेकेण्डरी स्कुलेले विद्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा विद्यालयले प्रदान गर्ने शिक्षाको गुणस्तर, मापदण्ड, शैक्षिक नीति, पाठ्यक्रम कार्यान्वयनका आधारमा अन्तर्राष्ट्रिय गुणस्तर मान्यता आइएओ ९००१ :२०१५ चिन्ह प्राप्त गरेको जानकारी दिएको थियो ।

गुणस्तर प्राप्तका लागि शीर्ष १० आइएसओ प्रमाणपत्रका उपाधी र १२ भन्दा बढी आइएसओ मानकहरु प्रमाणित गरेकोमा विद्यालयले उक्त गुणस्तर चिन्ह प्राप्तका लागि पहिलो चरणको काम पुरा गरेको छ ।

पहिलो पटक चार विधा पाएको मान्यतापछि अझै १७ वटा सूचक पुरा गर्नुपर्ने काम बाँकी छ । त्यसका लागि ३ बर्षको समय पाएको छ । तीन वर्ष भित्र आएसओ प्रदान गर्ने संस्था डिलाइट ग्रुप र सिद्धार्थ सोलुसनले हरेक ६ महिनामा विद्यालयमा सामाजिक, नैतिक तथा पाठ्यक्रम र जीवन भोगाइ समेतको अनुगमन गर्नेछन् । तीन बर्ष सम्मका सबै अनुगमन उत्तिर्ण भएमा विद्यालयले स्थायी मान्यता पाउनेछ । 

तीन वर्षसम्म विद्यालयले अभिभावक र बालबालिकालाई समेत गुणस्तर शिक्षाका लागि चाहिने सूचकबारे जानकारी गराउने छ । पत्रकार सम्मेलनमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम सुवेदी, प्रिन्सिपल रामप्रसाद शर्मा समेतले विद्यालयले गरेको अथक मेहनतबाट आइएसओ मान्यता पाउन सकेको जानकारी दिए । 

पत्रकार सम्मेलनमा अन्तर्राष्ट्रिय गुणस्तर मान्यता प्राप्त चिन्ह कार्यान्वयन र औपचारिक घोषणा कार्यक्रम फागुन ३० गते मंगलबार एक समारोहका बीच विद्यालयमा मनाउन थालिएको न्यू लाईफ बोर्डिङ सेकेण्डरी स्कूलका प्रिन्सिपल राम प्रसाद शर्माले जानकारी दिए ।

जिल्लाकै पुरानो निजी विद्यालयको रुपमा रहेको न्यू लाईफ बोर्डिङ सेकेण्डरी स्कुलले सन् २०२३ देखि २०२६ सम्मका लागि गुणस्तर चिन्ह प्राप्त गरेको हो । “विद्यालयको शैक्षिक गतिविधि र विद्यालयका सबै पक्षलाई गुणस्तरीय सेवा तथा सुविधा गरको कारण र विभिन्न विधामा अन्तराष्ट्रिय मापदण्डका सूचक पुरा गरी अन्तराष्ट्रिय गुणस्तर चिन्ह प्राप्त गरेका हौं” उनले भने “गुणस्तर चिन्हलाई कायम राख्दै निरन्तरता दिनका लागि विद्यालयको शैक्षिक गतिविधि तथा शैक्षिक नीतिलाई थप परिमार्जन गर्दै अगाडी बढाउने छौं ।”

विद्यालयको शैक्षिक गुणस्तर, बाल अधिकारको सुनिश्चतता, नैतिक शिक्षा र विद्यार्थी र अभिभावकको नियमति अन्तरक्रिर्याको आधारमा विद्यालयले अन्तराष्ट्रिय गुणस्तर चिन्ह प्राप्त गरेको विद्यालयका सहायक प्रिन्सिपल तथा अन्तराष्ट्रिय गुणस्तर चिन्ह प्राप्तका लागि विद्यालयका संयोजक बिर बहादुर बोहोरा क्षत्रीले बताए ।

क्षत्रीका अनुसार विद्यालयले गुणस्तर चिन्ह प्राप्त संगै विद्यालयको थप शैक्षिक गतिविधिलाई प्रोत्साहन गर्ने, व्यवहारिक शिक्षामा जोड दिने, रणनैतिक योजना निर्माण गरेर लागु गर्ने विद्यालयको योजना रहेको छ । विद्यालयले उक्त गुणस्तर चिन्हलाई सदैव कायम राख्नका लागि अन्तराष्ट्रिय सूचकहरुलाई पालना र कार्यान्वयन गरिरहन आवश्यक रहेको क्षत्रीको भनाई छ ।

पछिल्लो समय यस विद्यालयमा अध्ययन गरेका विद्यार्थी विदेशका विभिन्न सहरमा पुगेकोले उनीहरुको प्रमाणपत्रले मान्यता पाउने विश्वास लिएका छौ संयोजक बोहरा क्षत्रीले भने-विद्यालय भित्र हुने खेलकुँद लगायतका सबै क्रियाकलापको प्रमाणपत्रको मान्यतापनि अब अन्तराष्ट्रिय बजारमा हुने हुदा विश्वसनीय समेत हुनेछ । आइएसओ चिन्ह पाएपछि नियमित र अद्यावधिक गर्ने कामको चुनौती भने बढ्ने छ ।

गलकोट नगरपालिका–६ मा रहेको विद्यालयले उक्त अन्तराष्ट्रिय गुणस्तर चिन्ह प्राप्तको औपचारिक कार्यक्रम गण्डकी प्रदेश सभासद जीत शेरचनको प्रमुख आतिथ्यतामा सरोकारवाला निकाय, स्थानीय तह, शिक्षासेवी, विद्यार्थी, पत्रकार र अभिभावका बीच मंगलबार भव्य समारोह गरी मनाउने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

कक्षा १ देखि १२ सम्म अध्यापन गराउदै आएको उक्त विद्यालयमा अहिले ९०० विद्यार्थी अध्ययनरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?