
Brazil's Neymar scores the opening goal during the World Cup quarterfinal soccer match between Croatia and Brazil, at the Education City Stadium in Al Rayyan, Qatar, Friday, Dec. 9, 2022. (AP Photo/Manu Fernandez)
क्रोएसिया विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । पाँच पटकको विश्वविजेता ब्राजिललाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै क्रोएसिया विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो ।
कतारको एजुकेशन रंगशालामा क्रोएसिया र ब्राजिलले निर्धारित ९० मिनेटसम्म गोलरहित बराबरी खेलेका थिए । त्यसपछि थप गरिएको ३० मिनेटको समयमा दुवै टिमले १–१ गोलको बराबरी खेलेका थिए । पहिलो हाफमा गोल गर्ने अवसर पाएपनि ब्राजिलले गोल गर्न सकेन । दोस्रो हाफको अन्तिम समयमा ब्राजिलले एकपछि अर्को गोलको सिर्जना गरेको थियो । तर सदुपयोग गर्न सकेन ।
थप गरिएको ३० मिनेट समयको पहिलो हाफको इन्ज्युरी समयमा नेयमारले गोल गर्दै ब्राजिललाई १–० गोलको अग्रता दिलाएका थिए । उनले यो गोलसँगै फुटबलका जादुगर भनेर चिनिने पेलेको रेकर्ड बराबरी बनाएका थिए । ब्राजिलबाट सर्वाधिक गोल गर्ने खेलाडी पेलेको ७७ गोलको रेकर्ड नेयमारले बराबरी बनाएका हुन् ।
खेलको ११६औँ मिनेटमा ब्रुनो पेटकोभिचले गोल गर्दै क्रोएसियालाई १–१ गोलको बराबरी दिलाए । बाँकी समयमा दुवै टिमले गोल गर्न नसकेपछि खेल पेनाल्टीतर्फ धकेलिएको हो ।
पेनाल्टीमा ब्राजिलविरुद्ध क्रोएसियाले जित निकाल्दै विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो । क्रोएसियाका लागि पेनाल्टीमा निकोला भ्लासिच, लोभ्रो मजेर, लुका मोड्रिच र मिस्लाभ ओर्सिचले गोल गरे । ब्राजिलका रोड्रिगोले प्रहार गरेको पेनाल्टी क्रोएसियाका गोलकिपरले बचाए । क्यासेमिरो र पेड्रोले गोल गरे । माक्र्वीन्होसले गोल गर्न नसकेपछि क्रोएसियाले ४–२ ले ब्राजिललाई हराएको हो ।
विश्वकपमा पछिल्ला ५ मध्ये ४ नकआउट खेल अतिरिक्त समयमा धकेलिएका छन्। तीन खेलमा पेनाल्टीमा क्रोएसिया विजयी भएको छ।
यो उसको चौथो जित हो। १९९८ मा पहिलोपटक सहभागी हुँदा नै क्रोएसिया तेस्रो भएको थियो। २०१८ को विश्वकप फाइनलमा फ्रान्ससँग निर्धारित समय ९० मिनेटमै टुंगिएको थियो। जुन खेलमा क्रोएसिया ४–२ ले हारेको थियो।
प्रशिक्षक डालिकको नेतृत्वमा क्रोएसिया अन्तिम ११ खेलमा अपराजित छ। युरो २०२० यताका २० खेलमध्ये एउटामा मात्रै हारेको छ।
विश्वकपमा क्रोएसियाको यो छैटौं सहभागिता हो। सन् २०१० बाहेक विश्वकपमा ऊ नियमित सहभागी भइरहेको छ।
ब्राजिल भने पछिल्ला ५ मध्ये ४ क्वार्टरफाइनलमा हारेको छ। फ्रान्स, नेदरल्यान्ड्स र बेल्जियमसँग क्रमशः २००६, २०१० र २०१८ मा हारेको थियो।
२००२ को विश्वकपको फाइनलमा जर्मनीलाई २–० ले हराएपछि पछिल्ला ६ वटै नकआउट खेलमा ब्राजिललाई युरोपेली राष्ट्रले अघि बढ्न दिएका छैनन्।
ब्राजिल क्रोएसियासँग पछिल्ला ४ भेटमा हारेको थिएन। गत हप्ता क्यामरुनसँगको १–० को हार उनीहरुको अन्तिम १९ खेलपछिको एक मात्र हार थियो।
अब क्रेएसियाले फाइनल प्रवेशका लागि नेदरल्यान्ड्स र अर्जेन्टिनाको विजेतासँग भिड्नेछ। दोस्रो क्वार्टरफाइनल खेल नेपाली समयानुसार शुक्रबार राति १२ः४५ बजे हुनेछ।
क्रोएसियाले अब फाइनल प्रवेशको लागि अर्जेन्टिना र नेदरल्यान्ड्सको विजेतासँग खेल्नेछ ।



