
मध्ये गर्मी मौषममा पर्यटकको आगमनले ब्यस्त प्रवासी नेपालीहरुलाई अहिले समय व्यवस्थापन गर्नु निकै चुनौती छ । कामलाई पहिलो प्राथमिकता दिदै व्यवसाय गरेका नेपालीहरु हुन् वा जागिर गर्ने प्रवासीहरु, अहिले निकै व्यस्त छन । यहाँ अधिकांश नेपालीहरुले होटल तथा रेष्टुरेष्ट व्यवसाय संचालन गदै आएका छन् । युरोपियन देशहरुमा पनि स्पेन पूर्णतया पर्यटकिय गन्तब्य नै हो । यहाँ मानिसहरु कुनै देशबाट गर्मी छल्न त कुनै देशबाट जाडोबाट जोगिन आउने गर्दछन् ।
आत्याधिक पर्यटकहरु सामुन्द्रीक रमझम रमाउने भएकोले गर्मी मौषमको गन्तब्य स्पेन बनेको हो भन्दा सायद फरक नपर्ला ।
समरको मध्ये सिजनमा होटल तथा रेष्टुरेण्ट व्यवसायीहरुको व्यस्तता देख्दा लाग्छ । किसानहरुको लागि मानो रोपेर मुरी फलाउने समय चलिरहेको छ । हुन:त स्पेन आफैमा सस्कृतिको हिसावले निकै साँस्कृतिक पर्व मनाउने देशको रुपमा चिनिन्छ ।
युरोपको बेल्जिएमबाट सांगितिक कार्यक्रमसहित यात्रा तय गर्नुभएका सर्जक तथा सर्वप्रिय गायक विष्णु खत्री अहिले स्पेनमा हुनुुहुन्छ । बेल्जीयम, फिनल्याण्ड, माल्टा, पोर्चुगल हुदै गायक खत्रीले सोमबार संस्कृतिको सहर स्पेनको कोष्टाब्लाङ्का खाबियामा आयोजित कार्यक्रममा आफ्नो प्रस्तुती दिनुभएको छ ।
नेपाली विन्दीया रेष्टुरेण्ट खाबियामा आयोजित बिष्णु खत्री सांगितिक कार्यक्रममा लोक गीत र मौलिक ३ तालको पन्चेबाजा प्रस्तुत गर्नुभएका खत्रीसंगै सबै दर्शकले नाचेर साथ दिएका थिए ।
व्यस्तताका बाबजुत सर्जक खत्रीको सृजना र प्रस्तुतिकै लागि कार्यक्रममा पुगेका दर्शकलाई खत्रीको प्रस्तुतीले कामको थकान तथा दुख सबै भुलाएको थियो ।
गायक खत्रीले भरिया दाईले बिसौँने भारी, लाउरे दाई छुट्टीमा आको, मौलिक पञ्चैबाजाको गीत धवलागिरीको, दुना टपरी, जाउला ढोरपाटन, सालैजो भाका लगायतका दर्जनौँ गीत गाउनुभएको थियो । खत्रीको प्रस्तुतीमा दर्शकले कम्मर मर्काएका थिए । खत्रीको सृजनामा मोहीत दर्शकको उपस्थितीले संगीतको गहिराई वा प्रभावलाई प्रष्ट झल्काउदथ्यो । बिहान कामबाट आएका र बेलुका पुन काममा पुग्नुपर्ने व्यस्त दर्शकले दर्शाएको संगीत तथा सृजना मोहले उत्साह भरेको थियो ।
कोष्टाब्लाङ्का वासी नेपाली समुदायको आयोजनामा भएको कार्यक्रमको नेपाली जन प्रगतिशील मञ्च युरोपका सदस्य केशर बहादुर थापाले संयोजन गर्नुभएको थियो । कार्यक्रममा थापाले गायक खत्रीका सबै प्रकारका लोक गीत तथा श्रृजनाले लोक संस्कृतिलाई जीवन्त बनाएको बताउनुभयो ।
कार्यक्रममा उपस्थित नेपाली दाजुभाई तथा दिदीवहिनीले गायक खत्रीलाई स्वागत र सम्मान समेत गरेका थिए । कार्यक्रममा एनआरएनए स्पेनका सचिव सन्तोष अर्याल र नेपाली जनप्रगतिशिल मन्चका प्रवक्ता विपल्व काफ्लेले मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रमको नेपाली जन प्रगतिशील मञ्च कोष्टाव्लाङ्काका अध्यक्ष बालकुमार बुढा मगरले सहजिकरण गर्नुभएको थियो ।