जापान क्रिकेट एसोसियसनद्वारा आयोजना हुँदै आइरहेको एम्बेसी कप-२०२१ क्रिकेट प्रतियोगिता खेल्नको लागि नेपाली क्रिकेट टिमलाई गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानले आर्थिक सहयोग, नेपाली राष्ट्रिय झण्डा र एनआरएनए जापानको लोगो हस्तान्तरण गरिएको छ ।
एनआरएनए जापानले शुक्रवार आफ्नो कार्यालय टोकियोको शिनओकुबोमा एक कार्यक्रमको आयोजना गरि एम्बेसी कप क्रिकेटमा सहभागी हुने खेलाडीको लागि आवश्यक व्यवस्थापकीय कार्य गर्नका लागि २ लाख ४४ हजार येन नगदका साथै नेपाली राष्ट्रिय झण्डा र एनआरएनएको लोगों हस्तान्तरण गरिएको संघका कार्यवाहक अध्यक्ष नविन निउरेले जानकारी दिए ।
शनिबार र आइतबार तोचिगी प्रान्तमा रहेको सानो अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने एम्बेसी कप-२०२१ मा नेपाल एम्बेसीको तर्फबाट टोकियो राइनो क्रिकेट क्लबको संयोजनमा १६ जना खेलाडी सहभागी हुन लागेकोले सोको व्यवस्थापनमा आर्थिक सहयोगका लागि संघमा अनुरोध आएपछि सचिव देवराज उप्रेतीको समयोजकत्वमा संघको पहलमा कार्यसमितिको टिम र क्षेत्रीय समितिमार्फत सो रक़म संकलन गरि हस्तान्तरण गरिएको हो ।
राष्ट्रको प्रतिनिधित्व गर्दै ख़ेल्न लागिएको सो एम्बेसी कपमा सम्पूर्ण व्यवस्थापकीय ज़िम्मेवारी नेपाली राजदूतावासले लिनुपर्नेमा त्यसो नभई आर्थिक समस्याका कारण खेलमा सहभागि हुन बंचित हुन नपरोस भन्ने उद्देश्यले खेलाडीहरूको आग्रहमा आवश्यक आर्थिक सहयोग प्रदान गरिएको कार्यवाहक अध्यक्ष निउरेले बताए ।
रकम हस्तान्तरण कार्यक्रममा एनआरएनए आईसीसीका कोषाध्यक्ष महेशकुमार श्रेष्ठले एनआरएनएले स्पोर्टस एकेडेमीको सोच अनुरूप आगामी दिनमा विभिन्न खेल र खेलाडीलाई आयोजित प्रतियोगितमा सहभागी गराएर प्रमोट गर्दै जाने योजना रहेको बताए । त्यस्तै ओम गुरुङले यस्तो विषम परिस्थितिमा विभिन्न समस्याका बाबजुद पनि एम्बेसी स्तरीय प्रतियोगितामा सहभागिता जनाउनु खुशीको कुरा भएकोले सफलताको शुभकामना व्यक्त गरे ।
प्रतियोगितामा सहभगिता जनाउन लागेको टिम म्यानेजर नेत्र रोकाले रमाइलोको लागि खेल खेल्न सुरू गरिएको आफ्नो टिमले हाल टुर्नामेण्टमा सहभागिता जनाउन पाउदा खुशी लागेको र यस कार्यमा एनआरएनए जापानले सहयोग र हौसला प्रदानबाट आगामी दिनमा अझ राम्रो गरेर नेपाल राष्ट्रलाई खेलका माध्यमबाट चिनाऊने उत्साह बढेक़ो बताए ।
नेपालमा रहदा विभिन्न ज़िल्ला वा सो सरहका क्रिकेट प्रतियोगितमा खेलेर अनुभव र दक्षता हासिल गरेका विभिन्न ज़िल्लाबाट जापानमा आइ क्रिकेट खेललाइ माया गर्ने युवाहरुको समूह सम्मिलित साथीहरुद्वारा गठन गरिएको टोकियो राइनो क्रिकेट क्लबले जापानमा हुने क्रिकेट प्रतियोगितामा भाग लिदै आइरहेको अध्यक्ष खत्रीले बताए । “बिगतका अनुभवलाई समेटेर र खेलका लागि आवश्यक तयारी पनि राम्रो भएकोले यस पटकको प्रतियोगितामा हाम्रो उपस्थिति बालियों हुनेछ”अध्यक्ष खत्रीले भने । खेललाई प्रवर्द्धन गर्न NRNA जापानले गरेको सहयोगप्रति पनि आभार व्यक्त गरे ।
सहयोग हस्तान्तरण कार्यक्रममा संघकि महिला उपाध्यक्ष संगीता अधिकारी, उपाध्यक्ष राम थापा अनिल,कान्तो क्षेत्रीय समितिका संयोजक दिपेश खत्री चिवा क्षेत्रीय संयोजक मुक्तिराज रेग्मी लगायतले प्रतियोगितामा जितको लागि शुभकामना व्यक्त गरेका थिए ।कार्यक्रम कार्यवाहक अध्यक्ष निउरेको अध्यक्षता र महासचिव सिद्धार्थ श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।
सो प्रतियोगितामा नेपाल सँगै भारत , बङ्गलादेश , पाकिस्तान , श्रीलंका, ब्रिटेन, न्युजिल्याण्ड र अष्ट्रेलिया एम्बेसी र जापानको अन्तर्राष्ट्रिय खेलाडीहरुको सहभागिता रहने जनाईएको छ । एम्बेसी कप-क्रिकेट प्रतियोगितामा नेपालको तर्फबाट आवश्यक तयारी सँगै अजय ठाकुरको कप्तानीमा सहभागिता हुन लागेको छ ।
विदेशमा रहेर पनि खेलका माध्यमबाट आफ़नो देशको नाम चिनाई राख्नका लागि टोकियो राइनो क्रिकेट क्लब क्रियाशील रहेपनि आर्थिक रूपमा अझै सबल र सक्षम नभएकोले प्रतियोगिता खेल्न लागेकोले बुद्दी शेरचन,पारसमणि पोखरेल, दिपक नेपाल, दिपक कार्की लगायतले समेत आर्थिक सहयोग गरेका छन ।
जापानी क्रिकेट टिमले विभिन्न देशका दूतावाससँगको सम्बन्धलाई अझ प्रगाढ़ बनाउन र क्रिकेट खेलप्रति चासो जगाई राख्नका लागि हरेक वर्ष एम्बेसी कपको आयोजना गरिदै आएको आयोजकले बताएको छ ।
प्रतियोगिताको लागि अजय ठाकुरको कप्तानीमा सिद्धान्त खत्री, अर्जुन गौतम, बिनम्र खत्री, विक्रम रानामगर, पंकज चन्द, उपहार रायमाझी, क्षितिज पाठक, सन्तोष पौडेल, शक्ति क्षेत्री, रोशन दंगाल,सुजन बास्तोला, उज्वल रायमाझी, दिपक सुनार , अभिषेक केसी र विकास के.सी सम्मिलित १६ सदस्यीय टिमको घोषणा गरिएको छ । टिमको म्यानेजर नेत्र रोका रहेका छन ।