माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षामा जापानबाट १४ जना परीक्षार्थी सहभागी हुने

-


     जनहित न्युज    
     चैत्र १५ गते २०७९


शुक्रबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षामा जापानबाट १४ जना परीक्षार्थी सहभागी हुने भएका छन । 

राष्ट्रिय परीक्षा बोर्डका अनुसार वैदेशिक रोजगारीमा रहेका नेपालीका छोराछोरीहरुले जापानको एभरेष्ट इण्टरनेशनल स्कूलबाट यस वर्ष जापानबाट SEE Batch -2023 अन्तरगत १४ परीक्षार्थीहरु एसईईमा परीक्षा दिन लागेका हुन् ।जसमा ४ जना छात्रा र १० जना छात्र रहेका छन । 

जापान सरकारको अनुमति लिएर नेपाली पाठ्यक्रम पढाइरहेका विद्यालयका विद्यार्थीहरु एसईईमा सहभागी हुन लागेको स्कूल प्रिन्सिपल विष्णु भट्टले जानकारी दिए ।

प्रिन्सिपल विष्णु भट्टका अनुसार जापानको एभरेष्ट इण्टरनेसनल स्कूलबाट एसईईमा सहभागी हुने यो तेस्रो व्याज हो । यस अघि ४४ जनाले एसईईमा सहभागी जनाईसकेका छन । 

परीक्षाको लागि राष्ट्रिय परीक्षा बोर्डद्वारा निर्माण गरिएका प्रश्नपत्र अनलाइन मार्फत प्राप्त हुने नेपाली राजदूतावास टोकियोको सुपरिवेक्षणमा परीक्षा संचालन हुने प्रिन्सिपल भट्टले बताए । उनका अनुसार राष्ट्रिय परीक्षा बोर्डको सम्पूर्ण नीति नियम भित्र रहेर परीक्षा संचालनदेखि नतिजा प्रकाशन गरिने बताए । 

जापानको एभरेष्ट इण्टरनेशनल स्कूल विदेशमा नेपाली पाठ्यक्रम अध्यापन गराउने पहिलो विद्यालय हो । यहाँ हाल कक्षा १२ सम्म अध्यापन हुँदै आएको छ । अहिले ४०० भन्दाबढ़ी विद्यार्थीले अध्ययन गरिरहेका छन । जापानमा हाल ३ वटा नेपाली पाठ्यक्रम अध्यापन गराउने स्कूल रहेका छन । 

परीक्षामा पाँच लाख १६ हजार ५९१ परीक्षार्थी सहभागी हुने एसइईका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिए ।

उनकाअनुसार पाँच लाख १६ हजार ५९१ परीक्षार्थीका लागि देशभरका ७७ जिल्लामा दुई हजार ३६ परीक्षा केन्द्र कायम गरिएको छ । जापानी विद्यार्थीका लागि जापानमै केन्द्र राखिएको छ । 

यस वर्ष छात्राभन्दा छात्रको संख्या बढी रहेको छ । दुई लाख ६० हजार ६७४ छात्र र दुई लाख ५५ हजार ९१७ छात्रा परीक्षामा सहभागी हुने श्रेष्ठको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?