सम्पर्कविहीन विमान मानापाथी हिमालको फेदीमा रहेको सेनाको भनाइ, अहिलेसम्म त्यस्तो कुनै ‘लोकेट’ भएको छैन-जोमसोम विमानस्थल

-


     जनहित न्युज    
     जेठ १५ गते २०७९


पोखराबाट मुस्ताङको जोमसोम विमानस्थलका लागि उडेको तारा एअरको जहाज जलिरहेको अवस्थामा फेला परेको छ । 

मुस्ताङको थासाङ गाउँपालिका दुई लारीकोटभन्दा माथिल्लो लाङिचगोला (मानापाथी हिमालको फेदी) मा जहाज जलिरहेको अवस्थामा फेला परेको नेपाली सेनाका उपरथी बाबुराम श्रेष्ठले जानकारीको उज्यालो अनलाइनले लेखेको छ ।  

यता सम्पर्कविहीन तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङको मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त अवस्थामा रहेको भनिए पनि अहिलेसम्म त्यस्तो कुनै ‘लोकेट’नभएको जोमसोम विमानस्थलले जनाएको पोखराबाट कान्तिपुरकर्मी लालप्रसाद शर्माले समाचार लेखेका छन । 

जोमसोम विमानस्थल प्रमुख पुस्कलराज शर्माले अहिलेसम्म जहाजको कुनै लोकेट नभएको बताएका हुन् । यसअघि लेकमा रहेका स्थानीयले घटनास्थलको ‘लोकेट’ गरेको नेपाली सेनाको मध्य कमान्ड हेडक्वार्टर पोखराका प्रमुख बाबुराम श्रेष्ठले जनाएका थिए ।

दुर्घटना भएको शंकास्पद ठाउँमा मौसम खराब छ । बादलले ढाकिएकाले हेलिकोप्टर जान नसकेको शर्माले बताए । ‘लोकेट भएकै छैन’ उनले भने, ‘पैदलमार्गबाट खोजी जारी छ ।’ 

यसअघि स्थानीयले मानापाथी हिमालको फेदीमा जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको भन्ने जानकारी दिएपछि नेपाली सेना, प्रहरी र सर्वसाधारण उक्त स्थानमा खोजीका लागि केन्द्रीत भएका छन् ।तर उक्त शंकास्पद भनिएको स्थानमा जान घन्टौं लाग्ने जनाइएको छ ।

आज बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एअरको जहाज १० बजेर ७ मिनेटमा बेपत्ता भएको छ । जहाजमा १९ जना यात्रु र तीन जना चालक दलका सदस्य गरी २२ जना व्यक्ति सवार रहेका तारा एअरले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?