बागलुङ-काेराेना भाइरस काेभिड १९ काे संक्रमण कम नभएको भन्दै जिल्ला प्रशासन कार्यालयले बागलुङमा सातौं पटक निषेधाज्ञाको अवधि थप गरेको छ । निषेधाज्ञा केही खुकुलो बनाएर आउँदो असार २५ गते रातीसम्म निशेधाज्ञा थपिएको हो ।
मंगलबार बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकको सिफारिसमा जिल्ला प्रशासन कार्यालय बागलुङले सात दिनका लागि निषेधाज्ञा थप गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक कृष्ण बहादुर पल्ली मगरले बताए ।
यस अवधीमा होटल, बस व्यवसाय, शैक्षिक संस्था, सिनेमाघर, व्युटिपार्लर, जिमहल लगायतका केहि सेवामुलक व्यवसाय बाहेक सबै पसलहरु बिहान ७ बजेदेखि १२ बजेसम्म खुल्ने गरेका छन् ।
निजी सवारी साधनलाई जोर बिजोर प्रणालिमा सञ्चालनमा आउन दिने निर्णय यथावत छ । चारपांग्रे र दुई पांग्रे सवारी साधन गतेअनुसार जोर बिजोर प्रणालिमा सञ्चालन गर्न दिने निर्णय पनि यथावत नै गरिएको छ ।
बैंक तथा बित्तिय संस्था सहकारी संस्था लाई बिहान ९ बजेदेखि १२ बजेसम्म सबै दिन खोल्न दिने निर्णय भएपछि बजारमा चहलपहल ह्वात्तै बढेको छ ।बागलुङ जिल्लामा अहिले पनि २६७ जना काेराेना संक्रमित बिरामी रहेका छन् ।