एनआरएनए जापान नागोया क्षेत्रीय समितिले मार्चदेखि अनलाइनमार्फत निःशुल्क जापानी भाषा कक्षा सञ्चालन गर्दै

-


     जनहित न्युज    
     फागुन १६ गते २०८०


गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापान क्षेत्रीय समिति नागोयाले आगामी मार्चदेखि अनलाइनमार्फत निःशुल्क जापानी भाषा कक्षा सञ्चालन गर्ने भएको छ।
एनआरएनए जापानको संयोजन तथा ११ वटै क्षेत्रीय समितिको सहयोगमा अनलाइन निःशुल्क जापानी भाषा कक्षाका लागि गुगल फारममार्फत आवेदन गरेका ३ सय ५२ जनालाई मार्च ९ तारिखदेखि विभिन्न समूहमा विभाजन गरि हप्ताको दुईदिन जापानी भाषा कक्षा सञ्चालन गर्न लागिएको एनआरएनए जापान क्षेत्रीय समितिका संयोजक भेषनाथ गौतमले जानकारी दिए।
“सामान्य जापानिज भाषा नजानेको कारण दैनिक जीवन यापनमा कठिनाई भोगिरहेका जापानबासी नेपालीलाई सहयोग पुर्याउने उदेश्यले अनलाइन निःशुल्क जापानी भाषा कक्षा सञ्चालन गर्न लागेका हौ।” संयोजक गौतमले भने- विशेष गरी कुक भिसा,डिपेण्डेण्ट भिसा लगायत अन्य भिसामा जापान बसोवास गर्दै आउनु भएको जापानबासी नेपालीहरुलाई अनलाइन मार्फत निःशुल्क जापानी भाषा कक्षाले दैनिक जीवनयापनमा थप सहयोग पुर्याउने छ।
निःशुल्क जापानी भाषा कक्षा संचालनलाई व्यवस्थित मर्यादित र सिकाइलाई प्रभावकारी बनाउन र कक्षा सञ्चालनको ग्रुप विभाजन लगायतका बारेमा आवश्यक छलफल गर्ने गरी गुगल फारम भरेकाहरु बिचमा मार्च २ तारिख अनलाइन सेमिनार गर्न लागिएको एनआरएनए जापान क्षेत्रीय समिति नागोया सचिव तथा अनलाइन मार्फत निःशुल्क जापानी भाषा कक्षा सञ्चालन समितिका संयोजक प्रतीक कार्कीले जानकारी दिए।
मार्च २ तारिख बेलुका ३ बजेबाट भर्चुवल जुममार्फत हुने सेमिनारका लागि Meeting ID: 448 917 1983 र Passcode: language2 रहेको कार्कीले जानकारी दिए।
जापानी भाषा कक्षा सञ्चालनका लागि भानु पूरी (PHD Runing) नागोया, नवराज चापागाइ नागोया, केशव लामिछाने क्युस्यू, सन्दिप बुढ़ाथोकी नागोया, बिविता सिटौला नागोया, तिर्थनाथ सापकोटा नागानो, अशोक पौडेल सेन्दाइ, सन्दिप जिसी सेन्दाइ, बिनोद चन्द सेन्दाइ,अमृत सुवेदी सेन्दाइ र यम प्रसाद खनाल ओकिनावाले सहजिकरण गर्नु हुनेछ। सचिव कार्कीले भने- जापानव्यापी जापानी भाषा कक्षा संचालन गर्नको लागि थुप्रै चुनौती रहेपनि नेपाली दाजुभाइ दिदीबहिनीलाई सहयोगका लागि त्यसको समाधान गर्दै भाषा सिकाइलाई प्रभावकारी बनाउने छौं।
निवर्तमान क्षेत्रीय समिति नागोयाले नागोया केन्द्रित निःशुल्क जापानी भाषा कक्षा सञ्चालन गरेको अनुभवलाई आत्मसात गरि जापानमा रहेर पनि जापानी भाषाको समस्या भोगिरहेका नेपालीलाई सहयोग पुर्याउन हाल एनआरएनए जापानको सहयोग र सबै क्षेत्रीय समितिको आवश्यक समन्वय र सहकार्यमा एनआरएनए जापान नागोयाले निःशुल्क जापानी भाषा कक्षा संचालन गरेर प्रशंसनीय कार्य गरेको एनआरएनए जापानका अध्यक्ष नविन निउरेले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?