जापान सरकारद्वारा प्रदान गरेको आर्थिक सहायता रकम उद्देश्य अनुरूप संचालन गर्नका लागि व्यावसायीहरूलाई एनआरएनए जापानको आग्रह

-


     जनहित न्युज    
     भाद्र १२ गते २०७८


जापान सरकारले कोभिड-१९ कोरोना महामारीबाट व्यावसायमा परेको क्षतिलाई कम गरि संचालित व्यावसायलाई सहज रूपमा निरन्तरता दिनका लागि प्रदान गरेको सहायता रकमलाई उद्देश्य अनुरूप खर्च गर्नका लागि जापानमा रहेका नेपाली व्यवसायीलाई गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानले आग्रह गरेको छ ।
एनआरएनए जापानले आज एक प्रेस विज्ञप्ती प्रकाशित गर्दै जापान सरकारले कम्पनीमा कार्यरत कर्मचारी र व्यावसायको स्थिरता र निरन्तरताका लागि सहुलियत रकम प्रदान गरेको त्यस रकमको उद्देश्य अनुरूप खर्च गर्न र कर्मचारीलाई जापान सरकारले तोकेबमोजिमको सेवा सुविधा उपलब्ध गराउनका लागि सम्बन्धित सरोकारवाला पक्षलाई आग्रह गरेको हो ।
‘झट्ट हेर्दा यो यी कुराहरु सामान्य लाग्न सक्छन तर हामी सबैले समयमै मनन गरि सोही अनुरूप व्यवहार गरेनौ भने पछि ठूला र क़ानूनीरूपमा जटिल समस्याहरु पनि आइपर्न सक्नेछन’ अध्यक्ष शिवप्रसाद पौडेल र महासचिव सिद्धार्थ श्रेष्ठद्वारा जारी बिज्ञप्तीमा भनिएको छ ।
जापानमा केही नेपाली व्यवसायीहरुले एक व्यक्तिको नाममा रहेको कम्पनीमार्फत अर्को व्यक्तिले व्यावसाय आपसी सहमतिको आधारमा संचालन गर्दै आइरहेको र प्राप्त सहायता रकमका विषयमा धेरै गुनासो र उजुरी एनआरएनए जापानमा आएकोले आपसी समझदारीको आधारमा व्यावसाय संचालन गर्दै आइरहेका व्यावसायी र संचालकहरुलाई सहमति कै आधारमा सेवा सुविधा उपलब्ध गराइ सिर्जित समस्याहरुको समाधान गर्नका लागि पनि विज्ञप्तीमार्फ़त अपिल गरिएको छ ।
कोभिड-१९ कोरोनाका कारण पछिल्लो समय जापानमा संक्रमितको संख्या तिब्र गतिमा बढिरहेको सन्दर्भ उल्लेख गर्दै विज्ञप्तीमा भनिएको छ- कोभिड-१९ सँग भागेर वा तर्केर कसैको दैनिकी चल्नेवाला छैन । तो कठिन परिस्थितिमा आफू र आफ्नाहरुलाई कोरोना संक्रमण हुन बाट जोगिनु र जोगाउनु नै बिश्व मानव समुदायको उत्थानमा हामीले निर्वाह गर्नसक्ने एकमात्र महत्वपूर्ण भूमिका हो ।
जापान सरकारले देशका विभिन्न प्रान्तहरुमा लगाएको आपतकाल र अर्ध आपतकालको नियमलाई पूर्ण रूपमा पालना गरिदिनको लागि समेत विज्ञप्तिमार्फ़त सबैमा आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?