
जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा आयोजक जापान पदक तालिकाको शीर्ष स्थानमा उक्लेको छ। अमेरिका र चीनलाई उछिन्दै जापान शीर्ष स्थान ओगट्न सफल भएको हो।
जापानले हालसम्म १३ स्वर्ण, चार रजत र पाँच कास्यसहित कूल २२ पदक प्राप्त गरेको छ। चीन दोस्रो तथा अमेरिका तेस्रो स्थानमा रहेका छन्। चीनले १२ स्वर्ण, छ रजत र नाै कास्य पदक प्राप्त गरेको छ भने अमेरिकाले एघार स्वर्ण, एघार रजत र नाै कास्य प्राप्त गर्न सफल भएको छ। यस्तै सात स्वर्ण, दश रजत र छ कास्य पदक प्राप्त गर्दै रसियन ओलम्पिक कमिटी पदक तालिकाको चौथो स्थानमा छ।
यसैगरी अस्ट्रेलिया छ स्वर्ण, एक रजत र नाै कास्य पदकका साथ पाँचौँ स्थानमा रहेको छ। ग्रेट ब्रिटेनले पाँच स्वर्ण छ रजत र पाँच कास्यसहित छैठौ स्थान सुरक्षित गरेको छ । दक्षिण कोरिया चार स्वर्ण, दुई रजत र पाँच कास्यसहित साताै, जर्मनी तीन स्वर्ण दुई रजत र पाँच कास्यका साथमा पदक तालिका आठौं स्थानमा फ्रान्स तीन स्वर्ण, दुई रजत र तीन कास्यका साथमा नवौँ र दुई स्वर्ण, छ रजत र तीन कास्य जित्दै दशौ स्थानमा रहेको टोकियो ओलम्पिकको वेबसाइटमा उल्लेख छ। टोकियो ओलम्पिकमा सहभागी २०५ देशमध्ये हालसम्म ५७ देशले पदक प्राप्त गर्न सफल भएका छन्।
नेपालबाट चार खेलमा पाँच खेलाडी टोकियो ओलम्पिकमा सहभागी भएका छन्। तीमध्ये सुटिङकी कल्पना परियार, जुडोकी सोनिया भट्ट, पौडीका एलेक्स शाहले खेलिसकेका छन्। तीनै जना पराजित भई प्रतियोगिताबाट बाहिरिएका छन्। परियारले महिला १० मिटर एयर राइफल, भट्टले महिला ४८ किलो तौल समूह तथा शाहले एक सय मिटर फ्रि स्टाइलमा प्रतिस्पर्धा गरेका थिए।
नेपालकी महिला पौडीबाज गौरिका सिंहले राष्ट्रिय कीर्तिमानमा सुधार गरेकी छन्। टोकियो अक्वाटिक्स सेन्टरमा बुधबार सम्पन्न पौडीको सय मिटर फ्रिस्टाइलमा उनले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा सुधार गरेकी हुन्।
उनले सन् २०१९ मा दक्षिण कोरियाको ग्वाङ्जुमा सम्पन्न १८ औं फिना वल्र्ड च्याम्पियनसिपमा १ मिनेट ६२ मिलिसेकन्डको समय निकालेकी थिइन्। एथलेटिक्सकी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्न बाँकी छ।चौधरीले महिला १०० मिटर दौडमा प्रतिस्पर्धा गर्नेछन्।