एनआरएनए जापानले प्रथम रनिङ कप पुरुष भलिबल प्रतियोगिता में २२ मा टोकियोमा आयोजना गर्दै

-


     जनहित न्युज    
     वैशाख १४ गते २०८०


जापानको राजधानी टोकियोमा प्रथम एनआरएनए रनिङ कप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । ‘राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद’ भन्ने मूल नाराका साथ नेपालको राष्ट्रिय खेल भलिबललाई विदेशमा पनि प्रवर्द्धन गर्ने मूल उद्देश्य सहित ‘प्रथम एनआरएनए रनिङ कप भलिबल प्रतियोगिता २०२३’ हुने भएको हो ।

एनआरएनए जापानले विदेशमा खेलकुदको माध्यमले एक आपसमा भाइचारासमेत बढाउने हुँदा प्रतियोगिता आयोजना गर्न लागेको एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेलले बताए । प्रतियोगिता मे २२ तारिख सोमबार टोकियोको ‘Shinjuku Cosmic center’ मा हुनेछ ।

प्रतियोगिताको कार्यक्रम संयोजक जिम्मा एनआरएनए जापानका केन्द्रीय समिति सदस्य रामबहादुर थापा (काजी) दिइएको छ ।  उनले यसअघि पनि गलकोट समाजमा रहँदा विभिन्न समयमा यस्ता प्रतियोगिताहरू आयोजना गरी सफलता पूर्वक सम्पन्न गरेको बताइन्छ। थापा भलिबल खेलका खेलाडी समेत हुन् । एनआरएनए जापानद्वारा पहिलो पटक आयोजना हुन लागेको यो प्रतियोगिता सबैको सहयोगमा सफलता पूर्ण सम्पन्न गर्न आफू लागिपर्ने संयोजक थापा (काजी)को भनाई छ ।

जापानबासी नेपालीको साझा संस्था NRNA जापानले संस्थामा अझ धेरै युवाहरुलाई समेट्न सकियोस् र यस खेल मार्फत जापानबासी सम्पुर्ण युवाहरुमा भाईचारा कायम गर्ने संदेश प्रवाह गर्न सकियोस् भन्ने मुल उद्देश्यका साथ भलिबल प्रतियोगिताको आयोजना गरिएको समेत कार्यक्रम संयोजक थापाले प्रष्ट पारे ।

नेपाल भलिबल संघ जापान शाखाका उपाध्यक्ष तथा यस प्रतियोगिताका खेल संयोजक समेत रहेका भलिबल खेलाडी बसन्त थापाका अनुसार प्रतियोगितामा बिजेता टिमले ३ लाख ५३ हजार ५३५ जापानीज येन, मेडल ,प्रमाणपत्र र उप-बिजेता टिमले २ लाख २५ हजार ५२५ जापानीज येन , मेडल , प्रमाणपत्र प्राप्त गर्नुका साथै खेलमा बेस्ट प्लेयर, बेस्ट स्पाइकर, बेस्ट सेटर, बेस्ट क्युकर, बेस्ट डिफेन्डर र बेष्ट कोच गरि ६ वटा बिधामा उत्कृष्ट छनौट गरि पुरस्कार बितरण गरिने कुराको जानकारी गराए ।

प्रतियोगितामा समावेश हुनका लागि दर्ता शुल्क ४०,००० जापानिज यन निर्धारण गरिएको र प्रतियोगिता बिहान ९ बजेबाट बेलुकी ६ बजे सम्म रहने कुरा खेल संयोजक थापाले जानकारी गराउदै सम्पूर्ण खेलप्रेमी दाजुभाईहरुलाई खेलमा समावेश हुन समेत अनुरोध गरेका छन् ।

प्रतियोगिता नेपाल भलिबल संघ जापानको समन्वय मा सम्पन हुने जानकारी भलिबल खेललाई अत्यन्तै माया गर्ने भलिबल प्रेमी तथा NRNA जापानका प्रवक्ता सुबास लामिछानेले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?