मेरो मान्यता नैतिकता इमानन्दारिता र स्वाधीनता एनआरएनएमा समावेशिता र आर्थिक पारदर्शिता’ भन्ने मान्यताका साथ गैर आवासीय नेपाली संघको आगामी कार्यकाल २०२१-२०२३ लागि जापानमा सफल व्यवसायी र सामाजिक व्यक्तित्वको छवी बनाएका रोबिन्द प्रसाद श्रेष्ठ ‘गोविन्द’ ले सह- कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन ।
एनआरएनए जापानको सदस्य, उपाध्यक्ष, दुई कार्यकाल आइसीसी सदस्य, दुई कार्यकाल एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजक हुँदै एसिया प्यासिफिक क्षेत्रीय संयोजकको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेका श्रेष्ठले एनआरएनए अभियानमा निरन्तर र क्रमिकरुपमा अगाडि बढ्न आइसीसी सह-कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको बताएका छन् ।
लामो समयदेखि समाजका सामाजिक क्रियाकलापमा सक्रिय र एनआरएनएको अभियानमा स्थापनाकाल देखि नै क्रियाशील हुदै श्रेष्ठ समन्वयकारी भूमिका निर्वाहमा आफुलाइ सशक्त रूपमा प्रस्तुत गर्ने गरेका छन ।
संस्थामा आर्थिक अनुशासन, पारदर्शिता र नियमित आम्दानीका श्रोत विकासको लागि आफ्नो उम्मेदवारी रहेको श्रेष्ठको भनाई छ । एनआरएनएमा लागेपछि लिन होइन दिन सक्नुपर्छ भन्ने मान्यता राख्ने श्रेष्ठ आर्थिक पारदर्शिता एनआरएनएको पहिलो प्राथमिकता रहेको बताउँछन् ।
नेपालीहरुको अभिभावकीय संस्थाको रूपमा रहेको एनआरएनएलाई समाज सेवाको उपयुक्त माध्यमका रूपमा लिइ उच्च नैतिकता प्रस्तुत गर्दै इमान्दारितापूर्वक काम गर्नुपर्ने र आफूले सोही अनुसार कर्तव्य निर्वाह गर्दै आइरहेको श्रेष्ठको भनाइ छ ।
एनआरएनएको आर्थिक पारदर्शितालाई व्यवस्थित रूपमा संचालन गर्नको लागि प्रविधियुक्त प्रणालीको विकास गरि व्यवस्थित रूपमा संचालन गर्ने आफ्नो मुख्य योजना रहेकोले सो योजना सफल बनाउनका लागि सह-कोषाध्यक्षमा विजयी गराईदिनका लागि सम्पूर्ण एनआरएनए अभियानमा लागेका मतदातालाई आग्रह गरेका छन ।
‘आफु बलियो भयो भने संस्था बलियो हुन्छ, संस्था बलियो भयो भने जुनसुकै काम गर्न सकिन्छ’ श्रेष्ठ भन्छन्–‘संकट र आपतकालिन अवस्था बाहेक हरेक प्रोजेक्टको लागि श्रोतको आधार अनुसार मात्र खर्च गरिनुपर्छ ।’ एनआरएनएमा दीर्घकालिन कोषको पनि ब्यबस्था गरेर त्यसलाई अनुशाशित रुपमा चलाउनु आजको आवश्यकता भएको श्रेष्ठको बुझाई छ ।
मुलुक बाहिर रहेका सम्पूर्ण नेपालीहरुको साझा संस्थाको रूपमा विकसित भैसकेको एनआरएनएलाई अझै साझा मनोविज्ञानको रूपमा विकसित गराउनका लागि समावेशिताको सिद्धान्त अनुरूप कामकारबाही गर्न र सोही बमोजिमको संगठनात्मक संरचना निर्माण गर्नको लागि आफूले विशेष पहल गर्नका लागि पनि सो पदमा निर्वाचित गरिदिनको लागि श्रेष्ठको आग्रह छ ।
नेपालको संवृद्धि र बिकासको लागि मुलुक बाहिर रहेका नेपालीको भूमिका महत्वपूर्ण हुने भएकोले उनीहरूले विदेशमा सिकेको ज्ञान सिप प्रविधि र पूँजीलाई नेपालको विकासमा लगाउने वातावरण सृजना गर्दै एनआरएनएलाई सबैको आशा र बिश्वासको केन्द्र बनाउनका लागि आफूले महत्वपूर्ण भूमिका निर्वाह गर्ने श्रेष्ठले प्रतिबद्दता समेत व्यक्त गरे ।
नेपालको बिकास र संवृद्धि भएपछि मात्र हामी नेपालीको शीर उचो हुने भएकोले विदेशमा रहेका बौद्धिक क्षमता सीप र प्रविधिको प्रयोग गर्दै लगानीका निम्ति पहलकदमी लिनुपर्नेमा उनको जोड छ । विदेशमा रहेर हामी जतिसुकै सफल व्यवसायी र उच्च पदमा कार्यरत रहेपनि नेपालको विकास र स्थिरता नभएसम्म हामीलाई विदेशीले हेर्ने दृष्टिकोण सकारात्मक नहुने पाइएकोले मुख्य त नेपालको विकास र संवृद्धिका लागि लगानी भित्र्याउन पहल गर्ने श्रेष्ठको योजना रहेको छ ।