नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक आरोपी पक्राउ

-


     जनहित न्युज    
     असार ११ गते २०८०


नक्कली भुटानी शरणार्थी प्रकरणमा थप १ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँले सोमबार मण्डिखाटारबाट आशिष बुढाथोकीलाई पक्राउ गरेको हो ।

प्रहरीले भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाएपछि बुढाथोकी फरार थिए ।

शरणार्थी बनाउने भन्दै गिरोहले संकलन गरेको रकम बुढाथोकीको बैंक खातामा समेत भेटिएको प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले जानकारी दिएका छन् ।

यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित ३० जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले अदालतमा मुद्दा चलाएको थियो । त्यसमध्ये १८ जना पक्राउ परेका थिए । 

पक्राउ परेकामध्ये लक्ष्मी महर्जन र टंक गुरुङ क्रमश: ५ लाख र १० लाख धरौटीमा छाड्दै बाँकीलाई काठमाडौं जिल्ला अदालतले मुद्दाको किनारा नलागेसम्म पुर्पक्षका लागि थुनामा पठाइसकेको छ ।

फरार १२ मध्येका बुढाथोकी पनि हुन् । पूर्वगृहमन्त्री थापाका छोरा प्रतीक, इन्द्रजित राईका छोरा निरजसहित ११ जना अझै फरार छन् । 

२०७९ चैत १२ मा ३ अभियुक्तलाई पक्राउ गरी ठगीमा अनुसन्धान गरिएकामा अनुसन्धानको दायरा बढाएर संगठित अपराधमा मुद्दा चलाइएको थियो । त्यसक्रममा किर्ते र राज्यविरुद्धको अपराधसमेत जोडेर ४ वटा कसुरमा दायर मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?