
बागलुङ – अठार वर्ष लामो बेल्जियम बसाइलाई बिट मारेर गाउँ फर्कनुभएका राजु थापाले नेपाली कांग्रेसबाट काठेखोला गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका छन् ।
विसं २०५४ को स्थानीय चुनावमा काठेखोला–४ तङ्ग्राम (तत्कालीन गाविस) को अध्यक्ष बनेका उनलाई यसपालिको चुनावमा सत्ता साझेदार दलहरुले साझा उम्मेदवारका रूपमा अघि बढाएका हुन् ।
थापा चार महिनाअघि मात्रै नेपाल फर्केका थिए । कांग्रेसबाट होमबहादुर हमाललगायतका नेता अध्यक्षको आकाङ्क्षी रहे पनि अन्तिममा थापाले टिकट पाएका हुन् । कांग्रेसका महाधिवेशन प्रतिनिधिसमेत रहेका उनी बेल्जियमा रहँदा नेपाली जनसम्पर्क समितिमा क्रियाशील थिए ।
“बेल्जियमा रहँदा पनि लगातार पार्टी समितिमा बसेर काम गरेँ, अहिले नयाँ जिम्मेवारीका लागि पार्टीले अगाडि बढाएको छ, परिणाम दिने गरी चुनावमा होमिएको छु”, थापाले भने। पहिले गाविस अध्यक्ष हुँदा होस् या प्रवासमा रहेका बेला पनि गाउँको विकास र जनताको सेवामा थापाको महत्वपूर्ण योगदान रहेकाले चुनावमा लोकप्रिय मत लिएर जित्ने नेपाली कांग्रेस, क्षेत्रीय समितिका सदस्य खड्क थापा मगरले दाबी गरे ।
`एउटा जित्ने आधार कांग्रेसको आफ्नै सङ्गठन हो, त्यहीँमाथि अध्यक्षका उम्मेदवारको आफ्नै व्यक्तित्व छ, पहिले गाविस अध्यक्ष हुँदा पनि उनले जनताको मन जित्ने गरी काम गर्नुभएको थियो`, थापा मगरले भने, `सबै विदेश जान लालायित भइरहेका बेला उहाँ बेल्जियको पिआर त्यागी देशको सेवा गर्छु भनेर आउनुभएको छ ।`
पचास वर्षीय थापा २६ वर्षको उमेर छँदा विसं २०५४ मा तत्कालीन तङ्ग्राम गाविस अध्यक्षमा निर्वाचित भएका थिए । कम उमेरमा जनप्रतिनिधि हुनेमा उनको पनि नाम लिइन्छ ।
अध्यक्षमा थापाको प्रतिस्पर्धा नेकपा (एमाले)का डिलबहादुर कार्कीसँग हुने भएको छ । विसं २०७४ को चुनावमा काठेखोला एमालेले जितेको थियो । नेपाली कांग्रेसका होमबहादुर हमाललाई पराजित गर्दै एमालेका अम्मरबहादुर थापा अध्यक्ष बनेका थिए ।
बेल्जियमको नागरिक उमेद्वार भएको दावी
सत्ता गठबन्धनको तपण्र्mबाट काठेखोला गाउँपालिकाको अध्यक्षमा उमेद्वारी दिएका राजु थापाका बिरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता भएको छ । नेकपा एमालेको तर्फबाट अध्यक्षमा उमेद्वारी दिएका डिल बहादुर कार्कीले थापाको बिरुद्धमा उजुरी दिएका हुन् ।
थापा बेल्जिएमको ‘पिआर’ भएकाले उतैको नागरिक भएको उजुरीमा दावी गरिएको छ । नेपाली नागरिकता त्याग गरेको व्यक्ति उमेद्वार बन्न नसक्ने भन्दै कार्कीले उजुरी दिएका हुन् । थापाका बिरद्धमा परेको उजसरीको छानविन भैरहेको काठेखोला गाउँपालिकाका निर्वाचन अधिकृत हर्क बहादुर क्षेत्रीले बताए ।



