एनआरएनए जापानमा उत्पन्न विवादको समाधान खोज्न संरक्षक भवन भट्टलाई जिम्मा, क्षेत्रीय भेला स्थगित

- एनआरएनए जापानका क्षेत्रीय समिति तानातानको अवस्थामा

-


     जनहित न्युज    
     माघ १२ गते २०७८


आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको कार्यकाल २०२१–२०२३ का लागि जुलाई ३० मा सम्पन्न निर्वाचनलाई लिएर बढेको तिक्तताको समाधान खोज्नका लागि एनआरएनए आइसीसीको ८१ औ बैठकले पूर्व अध्यक्ष भवन भट्टलाई ज़िम्मेवारी प्रदान गरेको छ ।
एनआरएनए आइसीसी को N-९२१/०१९-२१ पत्रअनुसार संरक्षक तथा निवर्तमान अध्यक्ष भट्टलाई सम्बन्धित सबै पक्षसँग समन्वयन र छलफल गरि हाल एनआरएनए जापानमा देखापारेका समस्याहरू समाधान गर्न यथासक्य चाडो उपयुक्त निकास निकाल्न ज़िम्मेवारी प्रदान गरिएको छ ।

एनआरएनए जापानको निर्वाचनमा स्वच्छ र निष्पक्ष निर्वाचनको भावना विपरित अनाधिकृत रूपमा मतदान गरेको अध्यक्ष मण्डलद्वारा गठित निर्वाचन समीक्षा समितिले गत अगस्ट २९ मा २९२ पृष्ठको लामो प्रतिवेदन सार्वजनिक गर्दै एनआरएनए जापानको सदस्यता नरहेकाहरुद्वारा ६० वटा ग्रुप मेल तयार गरि २ हजार ९ सय ४ मत अनाधिकृत रूपमा मतदात प्रक्रियामा राखिएको तथ्य भेटिएको उल्लेख गरेको थियो ।
यहि प्रतिवेदनलाई आधार मानेर अनिता गुरुङ नेतृत्वको असन्तुष्ट पक्षले निर्वाचनबाट निर्वाचित शिवप्रसाद पौडेलको कार्यसमितिलाई स्विकार नगरि समानान्तर गतिविधि संचालन गर्दै आएपछि उत्पन्न विवादको समाधानका लागि संरक्षक भट्टलाई ज़िम्मेवारी प्रदान गरिएको छ ।
एनआरएनए जापानको क्षेत्रीय भेला स्थगित
एनआरएनए जापानले आफ़नो वार्षिक क्यालेन्डर अन्तर्गत गर्न लागिएको क्षेत्रीय भेला जापानमा कोभिड-१९ कोरोना भाईरसको संक्रमण तिव्र गतिमा फैलिएको सन्दर्भलाई ध्यानमा राखेर एक महिना पर सार्ने गरि स्थगित गरिएको जनाएको छ ।

मंगलवार भर्चुवल रूपमा पत्रकार सम्मेलन गर्दै जनवरी २९ र ३० तारिक गरिन लागिएको क्षेत्रीय भेला पछिल्लो कोराना संक्रमणको अवस्थालाई ध्यानमा राखेर स्थगित गरि मार्च ४ र ५ तारिक पहिले तोकिएको चिवामा अवस्थित इचिकावा ग्राण्ड होटलमा नै गरिने अध्यक्ष शिवप्रसाद पौडेलले जानकारी गराए ।साथै कोरोना महामारीको अवस्था अहिलेजस्तै कायम रहेमा वेभ भर्चुवलमाध्यमबाट भएपनि तोकिएको मितिमा भेला सम्पन्न गरिने
प्रवक्ता सुभाष लामिछानेद्वारा प्रकाशित विज्ञप्तीमा जनाइएको छ ।

क्षेत्र र केन्द्रका बिचमा सम्बन्धलाई सुमधुर बनाउने, कार्यसम्पादनमा एकरुपता ल्याउने, एनआरएनए जापानमा सम्पन्न हुने हरेक कार्यमा अपनत्वको भावना विकास गराउने, केन्द्रीयदेखि क्षेत्रीय समितिका पदाधिकारीहरूमा आत्मीयताको भावना विकास गराउने, एनआरएनए जापानका नीतिगत कार्य तर्जुमामा सहयोग पुर्याऊने उदेश्यले भेलाको आयोजना गर्न लागिएको बताएको छ ।

एनआरएनए जापानका क्षेत्रीय समिति तानातानको अवस्थामा
एनआरएनए जापानको गत जुलाई ३० मा सम्पन्न निर्वाचनमा अनलाइनमार्फत भएको मतदानमा निर्वाचनको परिणाम सार्वजनिक भएसंगै पराजित भएका २९ जना उम्मेदवारहरूले मतदाताहरुले आफ्नो मताधिकार प्रयोग गर्न नपाएको भनि अध्यक्ष मण्डलमा उजुरी गरेपछिबाट उत्पन्न विवाद पछिल्लो समय क्षेत्रीय समितिका संयोजकहरूलाई जोडेर निर्वाचित कार्यसमिति र समानान्तर कार्यसमिति बनाएर आफ़ना गतिविधि संचालन गरिरहेको समितिले ज़िम्मेवारी प्रदान गरेका र त्यस्तो नगर्न चेतावनी दिएसंगै तानातानको चरणमा पुगेका हुन ।

समानान्तर कार्यसमिति बनाएर कार्य गरिरहेको अनिता गुरुङ नेतृत्वको समितिले जनवरी २१ मा बैठक बसेको भन्दै प्रवक्ता सरिता ढकालका नामबाट सार्वजनिक गरिएका ७ वटा निर्णयको कार्यान्वयन अन्तरगत जनवरी २२ मा एक विज्ञप्ति प्रकाशित गरि जापानमा बढ्दै गएको कोरोना भाइरसको ओमिक्रोन भेरियन्टबाट भेला तथा समारोहको बाक्लो उपस्थितिले संक्रमण फैलिन जाने भएकोले त्यस्तो नगर्न सामाजिक संघ संस्थालाई आग्रह गर्दै कुनै आवश्यक सहयोगको लागि क्षेत्रीय समितिका संयोजकहरूलाई सम्पर्क र समन्वय गर्न भन्दै नामावली र सम्पर्क नम्बर राखिएको थियो ।

त्यसको प्रतिजवाफमा एनआरएनए जापानका १२ वटै क्षेत्रीय समितिका संयोजकहरूद्वारा हस्ताक्षर सहित प्रवक्ता सुभाष लामिछानेमार्फत जनवरी २५ मा NRNA जापानको नाममा केहि समयदेखि बारम्बार कार्यसमितिसँग असम्बन्धित व्यक्तिहरूबाट अराजक गतिविधि भैरहेकोमा केन्द्र र क्षेत्रीय समितिको ध्यानाकर्षण भएको विज्ञप्ती प्रकाशित गरिएको थियो ।
प्रवक्ता लामिछानेद्वारा जारी गरिएको विज्ञप्तीमा पछिल्लो समय विज्ञप्तीको नाममा क्षेत्रीय संयोजकको नाम मोबाइल नम्बरसहित बिना जानकारी सार्वजनिक गरेको पाइएकोले यस्ता गतिविधि रोक्न र NRNA जापानका क्षेत्रीय समितिहरू यस्ता अराजक गतिविधिमा संलग्न र भ्रम सृजना गर्ने तत्वसँग कुनै सरोकार नरहेको स्पष्ट पारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?