बागलुङ जिल्लाको तमानखोला गाउँपालिकाका दुई स्थानमा आईतबार २२ थान भरुवा बन्दुक भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार तमानखोला गाउँपालिका–४ को लाममेला स्थित घट्टेखोला नजिकै रहेको ओढारमा लुकाई राखिएको अवस्थामा १२ थान एकनाले बन्दुक भेटिएको छ । वडा न.३ को मार्केखोलाको ओढारमा लुकाई राखेको अवस्थामा १० थान सहित २२ थान एक नाले भरुवा बन्दुक भेटिएको हो ।
प्रहरी चौकी बोङ्गादोभानबाट प्रहरी सहायक निरीक्षक पदम बहादुर नेपालीको कमाण्डमा ३ जनाको प्रहरी टोलीले गस्ति गर्दै जाने क्रममा बन्दुक भेटिएको बताइएको छ ।
बन्दुक कसले र किन राख्यो भन्ने बारे जानकारी नभएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख कृष्ण बहादुर पल्लिमगरले बताए ।
तमानखोला गाउँपालिकाको वडा नं. २ बोंगाखानीबाट अघिल्लो वर्ष १० नाल भरुवा बन्दुक प्रहरीले बरामद गरेको थियो । उनीहरु १० जनालाई नै खरखजाना मुद्धा लागेको छ । अदालतले जनही दुई लाखबढी धरौटिमा निस्कन सक्ने आदेश गरेपछि उनीहरु रिहा भएका हुन् उनीहरुले अहिलेपनि अदालतमा खरखजना सम्बन्धी मुद्धा खेपिरहेका छन् ।
प्रहरीले भरुवा बन्दुक सहित स्थानीयलाई पक्राउ गर्दै आएपछि स्थानीयले डराएर ओढारमा लुकाएर राखेको हुन सक्ने प्रहरीको अनुमान छ । ओढारमा भरुवा बन्दुक लुकाइ छिपाइ राख्नेहरुका बारेमा थप अनुसन्धान थालिएको सूचना अधिकारीले जानाकारी दिए ।
जिल्ला प्हरी कार्यालय बागलुङले गाउँघरमा लाइसेन्स विना रहेका हातहतियार प्रहरी समक्ष बुझाउन नागरिक तहमा सूचना जारि गरिरहेको छ । अटेरी गरेका र प्रहरीले सुरराकी पाएपछि घरतलासी गरि पक्राउ गर्ने अभियान चलाइरहेको जनाएको छ ।