जापानका कन्भिनियन्स स्टोरमा विदेशी कामदारको वर्चस्व: एक श्रीलंकन आप्रवासीको सफलताको कथा

-


     जनहित न्युज    
     माघ १२ गते २०८२


काकेगावा (जापान) — जापानका ५६,००० कन्भिनियन्स स्टोरहरूमा १ लाख १० हजारभन्दा बढी विदेशी कामदार कार्यरत छन्, जहाँ विदेशी विद्यार्थी र आप्रवासीहरूको भूमिका अपरिहार्य बन्दै गएको छ।

जापानका तीन ठूला चेनहरू—सेभेन-इलेभेन, लसन र फ्यामली मार्ट—अहिले विदेशी श्रमशक्तिमा निर्भर छन्। ‘जापानी समाजको लघुरुप’ मानिने यी पसलहरूमा बहुसांस्कृतिक सहअस्तित्वको अभ्यास भइरहेको छ।

यसको ज्वलन्त उदाहरण हुन्, सिजुओकाको काकेगावामा तीनवटा लसन स्टोर सञ्चालन गर्ने ५१ वर्षीय श्रीलंकन नागरिक सुरन्जित। सन् २००१ मा मेकानिक बन्ने सपना बोकेर जापान आएका सुरन्जितले पार्ट-टाइम कामदारबाट सुरु गरी हाल तीनवटा फ्रेन्चाइज स्टोरको मालिक बनेका छन्। उनले नयाँ आउने विदेशी विद्यार्थीहरूलाई काम र जापानी भाषा सिकाउन आफ्नै विशेष ‘म्यानुअल’ समेत तयार पारेका छन्। उनको पसलमा काम पाउन विद्यार्थीहरूको ‘वेटिङ लिस्ट’ नै हुने गरेको छ।

तथ्यांक अनुसार, जापानमा विदेशी विद्यार्थीको संख्या ३ लाख ३६ हजार नाघेको छ। जसमा चीनपछि सबैभन्दा धेरै नेपाली विद्यार्थी (१९.२%) रहेका छन्। राजनीतिक स्थिरता र सुरक्षित जीवनयापनको खोजीमा जापान रोज्नेहरूको संख्या बढ्दो छ। सुरन्जित भन्छन्, “जापान काम गर्नका लागि सुरक्षित र राम्रो ठाउँ हो, यहाँ कोही पनि युद्धको त्रासमा बाँच्नु पर्दैन।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?