नेदरल्यान्ड्ससँग पराजित हुँदै विश्वकप छनोटबाट बाहिरियो नेपाल

-


     जनहित न्युज    
     असार ९ गते २०८०


काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेदरल्यान्ड्ससँग पराजित हुँदै नेपाल समूह चरण बाहिरिएको छ ।  

टाकासिंगा स्पोर्टस् क्लबमा नेदरल्यान्ड्ससँग जित्नै पर्ने खेलमा नेपाल ७ विकेटले पराजित भएको हो । प्रतियोगिताको समूह चरणबाट बाहिरिने नेपाल तेस्रो राष्ट्र बनेको छ । 

यस अघि नेपालसँगै समूह ए मा रहेको अमेरिका तथा समूह बी मा रहेको युएई प्रतियोगिताबाट बाहिरीसकेका छन् । नेपाल बाहिरिएसँगै जिम्बावे र वेस्ट इन्डिज पनि सुपर सिक्समा स्थान बनाउन सफल भएका छन् ।

नेपालले दिएको १ सय ६८ रनको लक्ष्य नेदरल्यान्ड्सले २७ दशमलब १ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । 

नेदरल्यान्ड्सको जितमा ओपनर म्याक्स ओ डाउडले ७५ बलमा ८ चौका र ४ छक्काको सहयोगमा ९० रनको अर्धशतकीय ईनिङ खेले । अर्का ओपनर विक्रमजित सिंहसँग मिलेर पहिलो विकेटका लागि ८६ रनको सानदार साझेदारी गरे । 

सिंहले ४३ बलमा ३ चौका र १ छक्काको सहयोगमा ३० रनको योगदान गरे । सिंह सन्दीप लामिछानेको बलमा आउट भएका थिए । 

तेस्रो विकेटका लागि ओ डाउनले बास डि लिडासँग ६८ बलमा ६२ रनको साझेदारी गरे । बास डि लिडाले ३९ बलमा ६ चौकाको सहयोगमा अविजित ४१ रन बनाए । 

नेपालका लागि सन्दीप लामिछानेले २ तथा गुलसन झाले १ विकेट लिएका थिए । 

त्यसअघि पहिले टस हारेर ब्याटिङ गरेको नेपाल ४४ दशमलब ३ ओभरमा १ सय ६७ रन बनाउदै अलआउट भएको थियो । 

नेपालका लागि कप्तान रोहित पौडेलले ५५ बलमा ३ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ३३ रन बनाएका थिए । नेपालका ओपनर आसिफ शेख तेस्रो ओभरको दोस्रो बलमा शुन्य रनमा आउट भएका थिए । 

नेपालका कुनै ब्याटरका बीचमा पनि सम्झनलायक साझेदारी हुन सकेन । 

सन्दीप लामिछानेले ३३ बलमा ४ चौकाको सहयोगमा २७ रन बनाएका थिए । ओपनर कुशल भुर्तेलले ४२ बलमा २ चौकाको सहयोगमा २७ रन बनाएका थिए । 

भीम सार्कीले ५६ बलमा १ चौकाको सहयोगमा २२ रन बनाए । दीपेन्द्रसिंह ऐरीले १४ तथा कुशल मल्लले १२ रन बनाए।

नेदरल्यान्ड्सका लागि लगन भान विकले ४ तथा बास डि लिड र विक्रमजित सिंहले समान २/२ विकेट लिए । क्लेटन प्लोयट र आर्यान दत्तले समान १/१ विकेट लिए । 

सुपर सिक्समा पुग्न नेदरल्यान्ड्सलाई हराउन पर्ने नेपालको यात्रा यतीमा नै रोकिएको छ । जितसँगै नेदरल्यान्ड्स भने सुपर सिक्सका लागि छनोट भएको छ ।

सुपर सिक्समा प्रवेश गरेको नेदरल्यान्ड्सको एकदिवसीय विश्वकपमा छनोटको सम्भावना समेत जिवित रहेको छ । 

नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको थियो । नेपालले तेस्रो खेलमा वेस्टइन्डिजसँग १ सय १ रनको फराकिलो हार व्येहोर्न पुगेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?