
तामाङहरूको राष्ट्रिय पर्व मञ्जुश्री सम्वत २८५९ सोनाम ल्होछारको अवसरमा नेपाल तामाङ समाज, जापानले वृहत सास्कृतिक साँझ-२०२३ कार्यक्रम गर्ने भएको छ ।
प्रवासमै रहेर पनि आफ्नो भाषा, धर्म, परम्परा, संस्कार, संस्कृति र पहिचानलाई जगेर्ना गर्ने उदेश्यले मञ्जुश्री सम्वत २८५९ सोनाम ल्होछार (तावर ल्हो/बिरालो वर्ष) राष्ट्रिय पर्वमा नेपालबाट आमन्त्रित र स्थानीय कलाकारहरुको साथमा जनवरी २२ मा सास्कृतिक कार्यक्रम गरिन लागेको समाजका अध्यक्ष कर्साङ तामाङले जानकारी दिए ।
टोकियोको नाकानो जिरो हलमा गरिने उक्त कार्यक्रमले आफ्नो जातीय पहिचानसहित सस्कृति र परम्परालाई बचाई राख्न पुस्तान्तरण गर्न सहयोग पुग्ने विश्वास समाज लिएको अध्यक्ष तामाङले बताए ।
सोनाम ल्होछार तामाङ समुदायको पर्व हो, सस्कृति र पर्व हो, तसर्थ यसको संरक्षण र संवर्द्धन गर्नु हाम्रो राष्ट्रको सम्मान हो भन्ने मान्यतालाई आत्मसात गरि बृहत् सास्कृतिक कार्यक्रम गरिन लागिएको समाजले जनाएको छ ।
संस्थागत रुपमा मनाउन लागिएको उक्त कार्यक्रममा जापानमा रहेका विभिन्न पेशागत रुपमा रहेका व्यावसायी, कलाकार, पत्रकार, बुद्धिजीवी, विद्यार्थी लगायत सम्पूर्णलाई आफ्नो तर्फ बाट आवश्यक सहयोग पुर्याइ सस्कृति संरक्षण र आफ्नो परम्परालाई निरन्तरता दिने कार्यमा योगदान पुर्याइदिन समेत आग्रह गरिएको छ ।



