गलकोट समाज जापानको “वृहत सांगीतिक धमाका-२०२३” मा नेपालका चर्चित कलाकार प्रकाश सपुत,रचना रिमालसहित श्रीकृष्णबम मल्ल र इश्वर सिंहले तहल्का मच्चाउने

-


     जनहित न्युज    
     मंसिर ६ गते २०७९


गलकोट समाज जापानले आयोजना गर्न लागेको “वृहत सांगीतिक धमाका-२०२३” मा नेपालमा पछिल्लो समयका बहुचर्चित कलाकारको उपस्थितिसहित प्रस्तुति हुने भएको छ ।
जापानका चार वटा शहरमा गल्कोट क्षेत्रमा स्वास्थ्य क्षेत्रको सहयोगार्थ हुन लागेको कार्यक्रमका लागि भर्सटाइल कलाकारको छवि बनाएका प्रकाश सपुत, छोटो समयमै नेपाली सांगीतिक क्षेत्रमा सर्वत्र छाएकी गायिका रचना रिमाल, सुगम तथा मौलिक लोकगीतका सर्जक श्रीकृष्णबम मल्ल र आफ्नो आवाजमै मौलिकपन दिइरहेका ईश्वर सिंहको उपस्थितिमा सांगीतिक धमाका २०२३ गर्न लागिएको कार्यक्रम संयोजक रत्नसिंह बस्नेतले बताए ।
“विगतदेखि नै हरेक नया वर्षहरुमा सांगीतिक कार्यक्रम गर्दै आएकोमा समाजले विगतका २ वर्षमा कोभिड-१९ को महामारीका कारण कार्यक्रम गर्न नसकेकोमा यस वर्ष जापानको चारवटा शहरमा व्यापक तयारीका साथ चर्चित कलाकारको उपस्थितिमा कार्यक्रम गर्न लागिएको हो” कार्यक्रम संयोजक बस्नेतले बताए ।
सामाजिक उत्तारदायित्वका लागि समाजले विगतका वर्षमा गर्दै आएको नियमित कार्यक्रम अन्तरगत यस वर्ष गलकोट क्षेत्रमा स्वास्थ्यका क्षेत्रमा सहयोग गर्न जापानका चार शहर अन्तरगत फुकुओकामा डिसेम्बर २७, तारिख ओसाकामा डिसेम्बर ३१, नागोयामा जनवरी १ र टोकियोमा जनवरी २ तारिक नेपालका चर्चित कलाकारहरूको साथमा सो कार्यक्रम गरिने समाजका प्रवक्ता दिलिप कंडेलले जानकारी दिए ।
कार्यक्रमबाट संकलित रकमबाट गलकोट लगाएत नेपालका बिभिन्न ठाउमा भौतिक संरचना निर्माण तथा स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएको समाजले यस बर्षगलकोट क्षेत्रमा स्थानीय सरकारसँगको आवश्यक समन्वयमा त्यहाका नागरिकलाई प्रत्यक्ष सेवा र लाभ प्रदान गर्ने गरि स्वास्थ्यका क्षेत्रमा आवश्यक सहयोग रकम संकलनका लागि यस वर्षको सांगीतिक धमाका गर्न लागिएको समाजका महासचिव लक्ष्मण कार्कीले बताए ।
गलकोट क्षेत्रका आम नागरिकको स्वास्थ्य क्षेत्रबाट छिटो र छरितो रुपमा सेवा र सुविधा प्रदान गर्नका लागि टेवा पुगी तत्काल उपचारको अभावमा हुने मूत्युदरलाई न्यूनीकरणमा योगदान पुर्याउने, गलकोट क्षेत्रको पर्यटन प्रर्वदनको विकासका लागि र नेपाली मौलिक संस्कृतिको प्रचार प्रसार भै जापान र नेपालको संस्कृति आदान प्रदानमा सहयोग पुर्याउने मुख्य उदेश्यका साथ सांगीतिक धमाका स्वरुप कार्यक्रम गर्न लागिएको समाजकी अध्यक्ष कालिका थापाले बताइन ।
अध्यक्ष थापाका अनुसार जापानभित्र रहेका सम्पूर्ण गलकोटे लगायत यस समाजप्रति आस्थावान सम्पूर्ण नेपालीहरुलाई संगठित गर्दै एकापसमा अविच्छिन्न पारस्परिक सम्बन्ध, सदभाव, सहयोग र सम्पर्कमा अभिवृद्धि गर्न पनि यस कार्यक्रमले सहयोग गर्नुका साथै नेपाल र जापानबिचको मित्रताको सम्बन्धलाई अझ बढि प्रगाढ बनाउन मदत भै सरोकारवाला निकायसगको सम्बन्धमा विकास गर्दै सहकार्यमा योजना सम्पन्न गर्न मदत हुने आशा समेत गरिएको जानकारी दिइन।
कार्यक्रम व्यवस्थापन र उदेश्य अनुरुप सम्पन्न गराउनको लागि विभागीय जिम्मेवारी प्रदान गरि व्यवस्थित रुपमा कार्य अघि बढेको र आर्थिक संकलन कार्यलाई एक अभियान कै रुपमा अगाडी बढाउने योजनामा आफूहरु रहेको समाजका कोषाध्यक्ष तथा कार्यक्रमका आर्थिक संयोजक दिलबहादुर थापा रामुले बताए ।
पवित्र र गलकोट क्षेत्रको आवश्यकतामा आधारित सहयोगार्थका निम्ति कार्यक्रम गरिन लागेकोले जापानमा रहेका हरेक नेपाली समुदायका व्यक्तित्वहरूको सक्रियतापूर्वक आर्थिक अभियानमा सहयोग हुने विश्वास उनले व्यक्त गरे ।
पछिल्लो समयका अत्यन्त चर्चित तथा धेरैको रोजाईमा परेका कलाकारहरु प्रकाश सपुत,रचना रिमाल ,ईश्वर सिंह र श्रीकृष्ण बम मल्लको सांगितिक प्रस्तुतीले नयाँ वर्षको कार्यक्रम अत्यन्त रमाईलो हुनेमा प्रवक्ता कंडेलले बिश्वास व्यक्त गर्दै भने- नेपाल लगाएत विदेशमा समेत दर्शकबाट रुचाइएकी गायिका रचना रिमालको जापानको कार्यक्रम पहिलो भएको हुदा पनि दर्शकको उपस्थिति उल्लेख्य हुनेछ ।
बागलुङ जिल्लाको गलकोट क्षेत्रबाट बिभिन्न पेशा ,रोजगारी तथा अध्ययनका लागि जापान प्रवेश गरेका हामी गलकोटेको साझा संस्था गलकोट समाज जापान “हाम्रो गाउ हाम्रो ठाउ, हातेमालो गरी सम्वृद्ध गराऔ” भन्ने भावनाका साथ गलकोट क्षेत्रको सामाजिक ,आर्थिक,सास्कृतिक, शैक्षिक, स्वास्थ्य, पर्यटकीय, पर्यावरणीय विकासमा हातेमालो गरि गलकोट क्षेत्रको साथै राष्ट्रको विकासमा टेवा पुरयाउने उदेश्यले सन् २००६ मा स्थापना भै जापानमा क्रियाशील संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?