जापानको टोकियोमा प्राकृतिक प्रकोप सम्बन्धी पूर्व तयारी अभ्यास हुने

-


     जनहित न्युज    
     भाद्र ४ गते २०८०


प्राकृतिक प्रकोप आइपरेको समयमा तत्काल बच्नका लागि अपनाउनु पर्ने उपायका बारेमा सचेतना जनाउनका लागि जापानको टोकियोमा प्राकृतिक प्रकोप पूर्व तयारी अभ्यास हुने भएको छ ।
टोकियो महानगरीय प्रहरी विभाग आयोजक र एनआरएनए जापान सह आयोजक रहने गरि अगस्ट ३१ तारिक टोकियोको नाकानो स्थित सिकिनो मोरी पार्कमा उक्त अभ्यास गरिन लागेको एनआरएनए जापानकी उपाध्यक्ष डा एलिजा केसी भण्डारीले जानकारी दिइन ।
प्राकृतिक प्रकोपबाट हुने जोखिमलाई न्यूनीकरण गर्दै तत्काल त्यस्तो अवस्थामा अपनाउनु पर्ने कुराका बारेमा सचेतना दिनका लागि स्टाम्प र्यालीसहितको पूर्व तयारीको अभ्यास सो दिन बिहान ९:३० बजेदेखि १ बजेसम्म गरिन लागेको उनले बताइन् ।
‘भूकम्प ज़स्तो प्राकृतिक प्रकोपको जोखिम उच्च रहेको जापानमा भूकम्पका बेला के कस्तो पूर्व तयारी गर्नुपर्छ के कसरी बच्नुपर्छ त्यस बारेमा जानकारी गराइने छ ।’ उपाध्यक्ष केसी भण्डारीले भनिन- भर्चुवल रियलिटीबाट भूकम्प आउदा कस्तो महसुश हुन्छ भन्ने कुरालाई हेर्न सकिने भएकोले कार्यक्रममा सहभागिताको लागि अनुरोध छ ।’
जापान प्रहरीसंगको सहकार्यमा कार्यक्रम गरिन लागेको र यसले प्राकृतिक प्रकोपको सचेतनाका साथै जापान र नेपालको दौत्य सम्बन्धलाई थप मजबुत बनाउन सहयोगीको भूमिका निर्वाह गर्ने विश्वास एनआरएनए जापानका अध्यक्ष नविन निउरेले बताए ।
कार्यक्रम उपयोगी र सचेतनामूलक रहनुका साथै स्टाम्प र्यालीमा सहभागिता जनाउनेलाई उपहार पनि प्रदान गरिने भएकोले सहभागिताका लागि जापानबासी नेपाली समुदायलाई एनआरएनए जापानका महासचिब टिकाराम खरेलले अनुरोध गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?