
जापानमा रहेका गलकोटेका साथै नेपालीहरूलाई खेलकुदप्रति जागरूप बनाउदै खेलकुदको प्रवर्द्धन र त्यससँग सम्बन्धित क्रियाकलाप गर्नका लागि आवश्यक योगदान पुर्याउने उद्देश्यले स्थापना गरिएको गलकोट स्पोर्टस क्लबको मंगलबार टोकियोमा सम्पन्न चौथो अधिवेशनले डिलाराम निउरेलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ ।
जापानमा रहेर पनि नेपाली खेलको संरक्षण सम्वर्धन र योगदान पुर्याउने ब्यक्ति तथा संस्थालाई सम्मान गर्दै आएको क्लवको सम्पन्न अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा दुर्गबहादुर खत्री उपाध्यक्षमा राज़ु बस्नेत र प्रकाश निउरे चयन भएको निर्वाचन समितिका सदस्य नरबहादुर थापाले जानकारी दिए ।

त्यसैगरि क्लबको २०२१-२०२३ कार्यकालका लागि महासचिवमा हिमाल कंडेल, सचिवमा दिनेश थापा, दीपक सुबेदी विप्लव र सह सचिवमा हरी भण्डारी निर्विरोध रूपमा चयन भएको निर्वाचन समितिका सदस्य थापाले बताए ।
टोकियोमा रहेका युवाहरुमा खेलका माध्यमबाट एकअर्कामा परिचित हुने र आपसी सम्बन्ध प्रगाढ गराउने कार्यमा सहयोग गर्दै आइरहेको सो क्लबको सम्पन्न अधिवेशनबाट क्लब कोषाध्यक्षमा रमेशकुमार खत्री, सह कोषाध्यक्षमा इश्वर बस्नेत, खेल संयोजकमा गणेश केसी र लेखा संयोजकमा जीवन गैरेलाई चयन गरिएको छ ।
क्लबको निर्वाचित सदस्यहरूमा कुशल भण्डारी,दुर्गबहादुर थापा,जेम्स बस्नेत, अम्मरबहादुर खड्का (कृष्ण), नारायण थापा, सुरज केसी, अशिम बस्नेत र गोम बुढ़ाथोकी रहेका छन ।

सचिवमा निर्वाचित थापा जनहित न्यूज डटकमका प्रबन्ध निर्देशक समेत हुन ।
भलिबल खेलको प्रवर्द्धनमा क्लबले महत्वपूर्ण योगदान पुर्याएको छ – वक्ता
अधिवेशनको उद्घाटन सत्रमा प्रमुख अतिथि रहेका गलकोट समाज जापानका अध्यक्ष यम खत्रीले बागलुंग जिल्लाको गल्कोट क्षेत्रबाट जापानमा रहेर बिभिन्न पेशा ब्यबसाय तथा रोजगारीमा संलग्न युवाहरुलाई खेलकुद मार्फत राष्ट्रियता, अनुशासन र लगनशील बनाउन साझा संस्थाका रुपमा आफ्नो पहिचान बनाउन क्लवले छोटो समयमा नै महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा खुशी व्यक्त गरे ।
क्लबका संरक्षक समेत रहेका विशिष्ट अतिथि रत्नसिंह बस्नेतले आपसी सत्भाव भाईचाराको विकास गर्न क्लबले खेलमार्फ़त खेलेको भूमिकाले नेपालको राष्ट्रिय खेल भलिबलको प्रवर्द्धनमा समेत योगदान पुर्याएकोले आगामी दिनमा सहकार्य र समन्वयात्मक रूपमा थप कार्य गर्न आग्रह गरे ।
कार्यक्रममा बोल्ने वक्ताहरूले कर्मभूमिमा रहेर पनि आफ़नो जन्मभूमि र देशप्रतिको माया ममता र एक असल नागरिक हुनुको नाताले खेलका माध्यमबाट पुरा गरेको कर्तव्यले आउने पुस्तालाई प्रेरणा र हौसला मिल्ने भएकोले व्यवस्थित योजनामार्फ़त सशक्त ढंगले कार्यक्रम संचालन गर्नको लागि आग्रह गरे ।
यसरी अधिवेशनमा बोल्ने वक्ताहरूमा क्लबका सल्लाहकार तथा ग़ैर आवासीय नेपाली संघका आइसीसी सदस्य नरबहादुर थापा, सल्लाहकार विजय भण्डारी र हिराबहादुर शेरचन रहेका थिए ।
खेलाडीलाई क्लबले गर्यो सम्मान
अधिवेशनमा क्लबका १४ जना खेलाडीहरूलाई भलिबल खेलमार्फत योगदान पुर्याएको भन्दै सम्मान समेत गरिएको थियो ।
यसरी सम्मानित हुनेहरूमा क्लबका खेलाडी हितु थापा, राम मल्ल, महेन्द्र भण्डारी, महेन्द्र साहानी, गणेश के सी, मनोज के सी, केशव केसी, रेशम बस्नेत,भरत मल्ल, ललित भण्डारी, सुनिल बस्नेत, अमर भण्डारी र देवेन्द्र के सी रहेका छन ।
सम्मानित खेलाडीहरूलाई क्लबका अध्यक्ष कार्की समाजका अध्यक्ष खत्री संरक्षक बस्नेत,सल्लाहकार थापा, शेरचन, गलकोट समाज जापान कान्तोका कोषाध्यक्ष ईश्वर बस्नेत लगायत अन्य अतिथिहरूले खादा र सम्मानपत्रद्वारा सम्मानित गरेका थिए ।
क्लबको सो अधिवेशनमा सचिव राजु बस्नेतले प्रगति प्रतिवेदन र कोषाध्यक्ष बुद्ध बस्नेतले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रम क्लबका अध्यक्ष लक्ष्मण कार्कीको अध्यक्षता र सदस्य दिनेश थापाको संचालनमा सम्पन्न भएको थियो ।
जापानमा विभिन्न पेशा ब्यावसाय अध्ययन र रोजगारीका लागि रहेका नेपाली समुदायमा रहेका खेलाडीको संरक्षण र नेपालको राष्ट्रिय खेल भलिबलप्रति चासो र क्रियाशील बनाई राख्न आफ्नो स्थापनाकालदेखि हरेक बर्ष मैत्रीपुर्ण भलिबल प्रतियोगिता आयोजना गर्दै आईरहेको छ ।