
बागलुङ नगरपालिका–८ सिगानास्थित भैनडाँडा आधारभूत विद्यालयका प्रधानाध्यापक रामेन्द्र खड्का प्रहरी हिरासतबाट रिहा भएका छन् । शिक्षक खड्कालाई आइतबार दिउँसो १ बजे ५० हजार धरौटीमा रिहा गरिएको श्रीमती दीपा खड्काले बताइन ।
सामाजिक सञ्जालमा आपत्तिजनक भिडियो पोस्ट गरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको थियो । शिक्षक खड्काले भने सामाजिक सञ्जालमा भेटिएको टिकटक हेर्ने क्रममा उक्त सामग्री असावधानीवश आफ्नो स्टोरिजमा गएको बताएका छन् ।
सोही विषयलाई लिएर उनलाई पक्राउ गरी काठमाडौं दरबारमार्गको प्रहरी वृत्तमा राखिएको थियो । शिक्षक खड्कालाई २२ गते जिल्ला प्रहरी कार्यालयमा बोलाएर कागज गराएर छाडिएकोमा गृह मन्त्रालयको आदेश भन्दै फेरि पक्राउ गरिएको थियो ।
खड्कालाई २४ गते बागलुङ बजारमा पीसीआर परीक्षण गर्न बोलाइएको थियो । पीसीआर रिपोर्ट नेगेटिभ आएकै दिन उनलाई पक्राउ गरी काठमाडौं चलान गरिएको थियो ।
काठमाडौंस्थित प्रहरीको साइबर ब्युरोले खड्काको पीसीआर परीक्षण गरी पठाउन आदेश दिएको थियो ।उनलाई साइबर क्राइमअन्तर्गत मुद्दा चलाइएकोमा विनासर्त रिहा गर्न शिक्षक संघ–संस्थाले माग गर्दै आएका थिए ।
खड्का निर्दोष रहेको र उनलाई राजनीतिक प्रतिशोध साध्न पक्राउ गरिएको एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति बागलुङका सचिव वीरबहादुर चोखालले बताए ।
