म विदेश आएको छु

-


     विशाल तिरुवा    
     जेठ ६ गते २०८०


लामो समय पछि।

म विदेश आएको छु
बा को पसिनाले निथ्रुक भिझेको
एक मुठी आशा बोकेर
म विदेश आएको छु
आमाको आशुले भिझाएको
गहभरीको माया बोकेर
म विदेश आएको छु
जन्मभुमिको तस्बिर
आखाँभरि सजाएर
बा
मैले नुहाउने खोलाहरुले
छोरो खोई भनेर सोधे भने
भन्दिनु
मेरो छोरो पसिनामा नुहाउन गएको छ
बा
म उकाली ओराली गर्ने
पहाडहरुले
छोरो खोई भनेर सोधे भने
भन्दिनु
मेरो छोरो तिमी भन्दा अग्ला
महल बनाउन गएको छ।
बा सकेँ छु भने
तिम्रो एक मुठी आशामा
साहुको ऋण तिर्न पुग्ने
पैसा थपेर पठाउँला
आमा सकेँ छु भने
तिमीले पठाएको ममतामा
एउटा नयाँ चोली थपेर
पठाउँला
बा
यदि म फर्किएन छु भने
आकाश तिर हेरेर
आकाशलाई भन्दिनु
भनिदिनु
छोरो तिम्रो हुन आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?