
बागलुङ सदरमुकामा रहेको इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एक साताका लागि कारोबार बन्द गरे सँगै बचतकर्ताले घेराबन्दी गरेका छन ।
सहकारीमा बचत गरेको रकम फिर्ता गर्न जाँदा बचत रकम फिर्ता दिन नसक्ने सहितको सूचना टाँस गरेर कार्यालय बन्द गरेपछि बचतकर्ताहरू विचल्लीमा परेका हुन ।
सहकारीले कुनै नाम नरहेको कार्यबहाक अध्यक्षको हस्ताक्षर रहेको एक सूचना प्रकाशन गर्दै अर्को सूचना नआए सम्मका लागि सम्पुर्ण कारोबार बन्द गरिएको जानकारी गराए सँगै सहकारीमा बचत कर्ताले घेरेका थिए ।

सहकारीले देशभर देखिएको आर्थिक संकटका कारण सहकारीमा तरलता अभाव भएको भन्दै कारोवार रोक्का गरेको सूचनामा उल्लेख गरिएको छ ।अर्को सूचना नभएसम्मका लागि बैशाख ७ गते बिहानदेखि सहकारीले बागलुङ बजारमा रहेको कार्यालय बन्द गरेपछि बचतकर्ता मर्कामा परेका हुन् ।
प्रदेशको राजधानी पोखराबाट बागलुङ बजारहुँदै बुर्तिबाङसम्म शाखा बिस्तार गरेको ‘इमेज बचत तथा ऋण सहकारीले बैशाख ६ गते बसेको सञ्चालक समितिको आकस्मिक बैठकको निर्णय भन्दै बिहिबारदेखि कारोवार बन्द रहने सूचना प्रकाशन गरेको थियो ।
सूचना प्रकाशनपछि बचतकर्ताले बागलुङ नगरपालिका–२ हल्लनचोकमा रहेको सहकारीको शाखा कार्यालयमा घेराउ गरेका थिए । सहकारीले सूचना निकालेको थाहा पाएपछि बचत गरेको रकम फिर्ता गर्न जाँदा सहकारी नै बन्द अवस्थामा रहेकाे शेयर सदस्य तथा बचत कर्ता दयाराम रिजालले बताए ।

बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ घर भई बागलुङ बजारमा बस्ने संगिता परियारले सूचना प्रकाशन गर्नुपूर्व पनि सहकारीले पटक पटक बचत रकम फिर्ता माग्न जाँदा फिर्ता पठाएको बताईन् । चार लाख रुपैयाँ बचत गेरेकी परियारले सिस्टमले काम नगरेको भन्दै फिर्ता पठाएर त्यसको भोलिपल्टै कारोवार बन्द गरेको आरोप लगाईन् ।
बागलुङ नगरपालिका–१ की सुनिता खड्काले आफ्नो १८ लाख रुपैयाँ सहकारीले फिर्ता दिनुको साटो बहाना बनाएर पटक पटक फर्काउने गरेको बताईन् । बचतकर्ताले सहकारीले तत्काल रकम फिर्ता गर्नुपर्ने बताएका छन् ।
एक÷दुई हजारदेखि बचत र चल्ती खातामा करोडौं रुपैयाँ रहेको बचतकर्ताको भनाई छ । बचतकर्ताहरु दैनिकजसो सहकारी संस्थाको कार्यालय पुग्छन् । तर, सहकारीले भने कर्मचारी र सञ्चालकका आफन्त तथा चिनेजानेका मान्छेहरुको बचत फिर्ता गर्ने तर बचतकर्तालाई सिस्टम नचलेको भनेर फिर्ता गर्ने गरेको गुनासो गर्छन् । सहकारीमा बचत गरेको रकम जोखिममा रहेको थाहा पाएपछि गएको केहिदिन अघि देखिनै बचतकर्ताहरूले सहकारीबाट रकम झिक्न खोजेको संस्थाका शेयर सदस्यहरु तथा बचतकर्ता बताउँछन ।

यस विषयमा संस्थाका संचालक समितिका अध्यक्ष समेत रहेका ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीले एकैपटक पैसा निकाल्नेहरूको भिड भएपछि पैसा दिन नसकिएको स्वीकार गरेका छन् । प्रतिक्रिया दिँदै उनले भने, ‘हामीसँग निक्षेपकर्ताको करीव ४० करोड छ । ५० प्रतिशत रकम लिक्वीडिटी थियो । एकै पटक आएपछि पैसा दिन नसकिएको हो ।’
वैशाख ६ गतेको सञ्चालक समितिको निर्णय त अर्को सूचना नभएसम्मका लागि कारोबार बन्द गरिएको उल्लेख छ नि ? भन्ने जिज्ञासामा नेपालीले भने, ‘यो आजको कुरा भनेको हुँ ।’
सहकारीले भने यो साता मात्रै करोडौं रुपैयाँ एकैपटक सहकारीबाट फिर्ता भएकाले तरलता अभाव भएको बताएको छ । बागलुङ शाखामा तरलता अभाव देखिएपछि तत्काल बैठक बसेर समस्या समाधान गर्ने प्रयास भैरहेको सञ्चालक लक्ष्मी सुनारले बताईन् । ‘समस्या आएपछि हाम्रा १८ जना कर्मचारीमध्ये ६ जना मात्रै कार्यालय आएका छन्, प्रबन्धकको मोबाईल फोन नलाग्ने भएको छ, हामी समस्या बुझ्दै छौं’ उनले भनिन् ‘केही समय दिनुहोस्, बचत फिर्ता हुन्छ, एकैपटक धेरै फिर्ता हुँदा समस्या भएको हो ।’ सहकारीले नियतबस कसैको पनि पैसा हिनामिना नगरेको उनले बताइन् ।
मेयर नेपालीले राम्रो आर्थिक आर्जन गरे पनि सहकारीका बचतकर्ताहरूलाई भने नराम्रोसँग डुबाएका छन् । उनको सम्पत्तिमथि छानविन हुनुपर्ने माग पनि उठेको छ ।
सहकारीमा बचतकर्ताहरुको भीड लागेपछि प्रहरीले पहरा दिएको थियो । सहकारीका अर्का सञ्चालक चित्रबहादुर भण्डारीले सहकारी समस्यामा नरहेकाले बचतकर्ता सबैको पैसा फिर्ता हुने बताए । बचतकर्ता एकैपटक चल्ती र मुद्दतीको रकम झिक्न आउँदा पुँजी व्यवस्थापन हुन नसकेकोले केही दिनमा दिने यसको व्यवस्थापन गर्ने संस्थाका संचालक बताउँछन ।
नेपालीको सहकारीले आफूहरूको रकम घोटाला गरेर पैसा नदिएपछि पीडितहरूले बाग्लुङमा रहेको सहकारीभित्र प्रवेश गरेर नारावाजी गर्नुका साथै आफ्नो रकम माग गरेका छन् । सर्वसाधारणले आन्दोलन गरेपछि प्रहरी आएर सहकारीलाई सुरक्षा दिएको छ ।



