
‘बाँच्नुपर्छ कोरोना जितेर लाउलाउ सारी पोहोरकै झिकेर एउटा फोटो खिच माछामाछो भ्यागुतो यसपालिको तीज’ यो गीत सार्वजनिक भएको वर्षदिन बित्यो । यसमा वर्णित परिस्थिति भने अझै बदलिएको छैन । कोरोना कहर उस्तै छ । तीज नजिकिएको छ । यसपालि पनि हाम्रा चाडपर्व कोरोनाको मारमा पर्ने निश्चित छ ।
गत वर्ष गायक दुर्गेश थापाले गाएको –‘माछामाछो भ्यागुतो यसपालिको तीज’को मर्म सकिएको छैन । सायद, त्यही सोचेर हुनुपर्छ, थापाको उक्त गीतको लेडिज भर्सन सार्वजनिक गरिएको छ । अघिल्यै वर्ष चर्चा कमाएको उक्त गीत गायिका समिक्षा अधिकारी र अस्मिता जुरेलीको स्वरमा शुक्रबारदेखि डिजिटल बजारमा आएको हो । गीतमा शब्द भने राम खत्री र थापा मिलेर लेख्नुभएको छ । सङ्गीत पनि थापाकै छ । ‘डि–सिरिज’ युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको हो ।
लेडिज भर्सनका लागि शब्दमा केही हेरफेर गरिएको थापाले बताउनुभयो । “गत वर्ष मेरो एकल स्वरमा गीत आयो, धेरै दर्शक÷स्रोताले रुचाउनुभयो”, उहाँले भन्नुभयो, “त्यही गीत अहिले लेडिज भर्सनमा सार्वजनिक गरिएको हो ।” थापाले गीतका लागि चल्तीका गायिका रोज्नुभएको छ । गीत सफल हुनेमा थापा विश्वस्त हुनुहुन्छ । सार्वजनिक भएको २४ घण्टा नबित्दै गीतले एक लाखबढी भ्यूज बटुलेको छ ।
गत वर्ष उहाँले गाएको सोही गीतले युट्युबमा एक करोड ३४ लाखबढी भ्यूज पाएको थियो । कोरोनाले तीज पर्वमा पारेको असर गीतमा यसरी प्रतिबिम्वित छ । ‘माइत पनि नगाको दुई साल भो कोरोनाले अहिलेनी उही चाल भो’ थापाले विसं २०७६ मा ल्याएको तीज गीत ‘बीच–बीचमा’ले पनि धेरै दर्शक÷स्रोताको मन जितेको थियो ।
उक्त गीतको म्यूजिक भिडियोलाई युट्युबमा हालसम्म एक करोड ५५ लाखभन्दा बढी पटक हेरिएको छ । तीजका सबै गीतमा थापाको आफ्नै लगानी छ । पछिल्लो समय तीज गीत गायनमा पुरुषको पनि उत्तिकै सक्रियता छ । तीज आउन झण्डै दुई महिना बाँकी छँदै गीत धमाधम सार्वजनिक भइरहेका छन् । कतिपय गीतमा महिलाका मुद्दालाई उठान गरिएपनि केहीले भने तीज गीतको सौन्दर्य गुमाउँदै गएका छन् । बागलुङमा जम्नुभएका थापा भने रमाइला र पृथक शैलीका गीत गाउन पोख्त हुनुहुन्छ । उहाँ गीतमा भन्नुहुन्छ– ‘भाइको बिहे जुराथे बाहुनले जन्त जान पाइएन लकडाउनले एउटा फोटो खिच माछोमाछो भ्यागुतो यसपालिको तीज’