दशैंको अग्रिम टिकट बुकिङ शनिबारदेखि खुल्ला

-


     जनहित न्युज    
     असाेज १ गते २०७९


दशैं-तिहारलगायतका चाडपर्वलाई लक्षित गर्दै शनिबारदेखि लामो तथा मध्यम दूरीका यात्रुवाहक बसको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । यसका लागि सम्पूर्ण तयारी पूरा भएको यातायात व्यवस्था विभागले जनाएको छ । 

यातायात व्यवसायीहरूको संस्था राष्ट्रिय यातायात व्यवसायी महासंघका अनुसार शनिबारदेखि अग्रिम टिकट बुकिङ खोलिने छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, सडक विभाग, ट्राफिक विभाग र यातायात व्यवसायीहरूको यही भदौ २२ गतेको बैठकले असोज १ गतेदेखि चाडपर्वका लागि अग्रिम टिकट बुकिङ गर्ने निर्णय गरेको थियो । 

बैठकले अग्रिम टिकट बुकिङ तथा उपत्यकाबाट बाहिरिने र उपत्यका भित्रिने यात्रुवाहक सवारीसाधनको यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, उपभोक्ता मञ्च, व्यवसायी र मजदुरसँग सहकार्य गरी प्रभावकारी अनुगमन गर्ने, कोभिड–१९ महामारीलाई ख्याल गर्दै स्वास्थ्य मापदण्ड अपनाउने निर्णय गरेको थियो ।

अनधिकृत काउन्टर र परिचयपत्र नभएका व्यक्तिद्वारा टिकट बिक्री गर्ने कार्यलाई पूर्णतया निरुत्साहित गर्ने, मुख्य सडकलाई मर्मतसम्भार गरी यातायात सञ्चालनलाई सहज बनाउन सम्बन्धित निकायसँग अनुरोध गरी पठाउने तथा दसैँका लागि आवश्यक सवारीसाधनको व्यवस्था यातायात व्यवसायीले गर्ने निर्णय गरिएको थियो ।

यातायात आवागमन सहज बनाउन खाद्यान्नलगायत अत्यावश्यक वस्तुको ढुवानी गर्ने बाहेकका ट्रेलरलगायतका ठूला सवारीसाधन आगामी असोज १५ देखि २२ गतेसम्म नारायणघाटदेखि काठमाडौँसम्म सञ्चालन गर्न रोक लगाउने निर्णय बैठकले गरेको थियो ।

नयाँ बसपार्क सञ्चालन गरिरहेको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले शनिबार बिहान ७ बजेदेखि अग्रिम टिकट बुकिङ खुल्नेगरी तयारी गरिएको जानकारी दिए । उनका अनुसार धेरै गाडी आवतजावत गर्ने ठाउँका सवारीसाधनका लागि अग्रिम बुकिङ गर्न छुट्टै टिकट काउन्टर स्थापना गरिएको छ भने थोरै गाडी जाने ठाउँमा हालकै काउन्टरबाट व्यवस्थापन गरिएको छ ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?