
काठमाडौं : राहदानी विभागले ई-पासपोर्ट विद्युतीय राहदानी वितरण सुरु गरेको छ। बुधबार शताब्दी पुरुष सत्यमोहन जोशीलाई पहिलो पासपोर्ट प्रदान गरी इ–पासपोर्ट वितरणको शुभारम्भ गरिएको हो।
जोशीलाई परराष्ट्रमन्त्री डा.नारायण खड्काले ई–पासपोर्ट हस्तान्तरण गरेका थिए। विभागले बुधबारदेखि लागु गरेको ई-पासपोर्ट मङ्सिर १५ गतेदेखि देशभरका जिल्ला प्रशासन कार्यालयबाट जारी गरिने विभागका महानिर्देशक डोरनाथ अर्यालले जानकारी दिए। अन्तर्राष्ट्रियस्तरमै निकै भरपर्दो, विश्वासिलो र सुरक्षित मानिएको विद्युतीय राहदानी नेपालले प्रचलनमा ल्याएको हो। विश्वका एक सय २० भन्दा बढी मुलुकले ई–पासपोर्ट प्रचलनमा ल्याइसकेका छन्।
ई–पासपोर्ट बनाउनका लागि सेवाग्राही काठमाडौं धाउन पर्दैन। विभागका निर्देशक शरदराज आरनका अनुसार देशभरका जिल्ला प्रशासन कार्यालयबाट यो पासपोर्ट प्राप्त गर्न सकिने छ। काठमाडौँ उपत्यका बाहिरका जनताले सामान्यतयाः आवेदन दिएको १५ दिनभित्र विद्युतीय राहदानी पाउनेछन्। जसका लागि उनीहरुले साविककै ५ हजार रुपैयाँ तिरे पुग्छ। तर, तत्कालै राहदानी आवश्यक परे काठमाडौंस्थित केन्द्रीय राहदानी कार्यालय आएर १५ हजार रुपैयाँ तिर्नुपर्नेछ।
विभागका महानिर्देशक अर्यालले विद्युतीय राहदानीका लागि आवेदन फाराम भर्दा ध्यान दिन आग्रह गरे।
‘सेवाग्राहीले ई–पासपोर्टका लागि आवेदन दिँदा नै कुनै विवरण गलत भरेमा पछि राहदानी छापिएर आएपछि सच्याउन निकै झन्झट हुन्छ। त्यसैले सुरु विवरण भर्दा नै ध्यान पुर्याउन आवश्यक छ,’ उनले भने।
‘हाल प्रयोगमा रहेको एमाआरपीभन्दा विदेश यात्राका लागि अझ भरपर्दो, सुरक्षित र विश्वासिलो विद्युतीय राहदानी (ई–पासपोर्ट) तपाईंले पाउनुहुनेछ, त्यसैले मंसिर १५ सम्म कुरेर राहदानी लिनुहोस् भन्ने हाम्रो आग्रह हो,’ विभागका महानिर्देशक अर्यालले भने।
त्यसैले विद्युतीय राहदानी बनाउन सेवाग्राही काठमाडौँ आइरहनु पर्दैन। अहिले नारायणहिटीस्थित राहदानी विभागको पुरानो भवनबाट मेसिन रिडेबल पासपोर्ट (एमआरपी) जारी भइरहेको छ। अब त्रिपुरेश्वरस्थित विभागको नयाँ भवनबाट विद्युतीय राहदानी जारी हुनेछ।
विद्युतीय पासपोर्ट ६ किसिमका हुनेछन्। सर्वसाधारण जनतालाई दिइने पासपोर्ट चकलेटी रंगको हुनेछ। राहदानीमा अब ३४ पेज रहनेछन्। यसअघि ३२ पेज थिए।
काठमाडौ आएर पासपोर्ट बनाउनका लागि १२ हजार शुल्क लाग्नेछ। जिल्लाबाट बनाउँदा ५ हजार शुल्क तिरे पुग्ने विभागको भनाइ छ। सेवाग्राहीले जिल्ला प्रशासन कार्यालयमा पुगेर फारम भरी आवश्यक कागजपत्र बुझाउनुपर्नेछ । उक्त डकुमेन्ट जिल्ला प्रशासन कार्यालयले विभागको सर्भरमा अपलोड गर्नेछ। विभागले ई पासपोर्ट जारी गरेर हुलाक मार्फत् जिल्ला प्रशासन कार्यालयहरुलाई पठाउने छ।
विद्युतीय पासपोर्ट ६ वटा रंगमा जारी हुनेछ। सर्वसाधारणलाई चकलेटी रंगको पासपोर्ट वितरण गरिनेछ। मङ्सिर २ गतेदेखि सिमित सेवाग्राहीलाई ई-पासपोर्ट वितरण हुनेछ। यही मङ्सिर १५ गतेदेखि भने सबै सेवाग्राहीले इलेक्ट्रोनिक पासपोर्ट बनाउन सक्ने विभागले जनाएको छ।
विश्वका विभिन्न देशमा प्रचलनमा रहेको ई-पासपोर्टका लागि राहदानी विभागले सन् २०२० को डिसेम्बर २० मा फ्रान्सेली कम्पनीसँग ई–पासपोर्ट छपाइका लागि दुई अर्ब ४८ करोड रुपैयाँमा खरिद सम्झौता गरेको थियो।
सम्झौता अनुसार १० महिनाभित्र कम्पनीले ई–पासपोर्टको वितरणका लागि सबै काम सकाउनुपर्ने थियो। सोहि अनुसार हाल काम सम्पन्न भएको विभागले जनाएको छ।
विश्वले सुरक्षित मानेको विद्युतीय राहदानी डिजिटल चिपमा आधारित ई–पासर्पोट जारी भएपछि सेवाग्राहीलाई झन्झट कम हुने र आफ्नो विवरण पनि थप सुरक्षित हुने बताइएको छ।
‘यो पासपोर्ट निकै नै व्यवस्थित र सुरक्षित छ, यसमा विद्युतीय चिप र एन्टेना जडान गरिएको छ,’ निर्देशक आरनले भने, ‘चिपमा फोटो, औंठा छाप र व्यक्तिगत विवरण राखिन्छ। कागजी पासपोर्टभन्दा यो पासपोर्ट कैयौं गुणा सहज र सुरक्षित छ।’
अहिलेसम्म नेपालले मेसिन रिडेबल पासपोर्ट पासपोर्ट (एमआरपी) जारी गरिरहेको थियो । सन् २०१० देखि नेपालले दोस्रो पुस्ताको एमआरपी पासपोर्ट प्रयोगमा ल्याएको थियो । सन् २०१५ सम्म हस्तलिखित राहदानी पूर्णतः विस्थापित भैसकेको थियो । नेपालमा पासपोर्टको इतिहास सुरु भएपछि ई-पासपोर्टको प्रयोेगलाई महत्वपूर्ण उपलब्धी मानिएको छ । अर्कोतर्फ एमआरपीको अवधि सन् २०३१ सम्मै रहने भएकाले त्यतिञ्जेल सोही पासपोर्ट प्रयोग गर्न सकिने पनि सरकारले जनाएको छ ।
डेट र टाइम बुकिङ गरेर आफ्नो पालोमा लिन सकिने
विद्युतीय राहदानी प्राप्त गर्नका लागि पहिलाको जस्तो लाइन बस्नु नपर्ने राहदानी विभागले जनाएको छ। विभागका अनुसार अनलाइनबाट मिति र समय बुकिङ गरेर लिन सकिनेछ। विभागका महानिर्देशक अर्यालले भने, ‘राहदानी बनाउनका लागि लाइन बस्नुपर्ने अवस्था थियो। विद्युतीय राहदानीका लागि त्यो झन्झट हुँदैन।’
विभागका महानिर्देशक अर्यालले एमआरपी जस्तो प्रक्रियागत झन्झट सेवाग्राहीले विद्युतीय पासपोर्ट निकाल्दा व्योहोर्नुनपर्ने बताए । ‘यसले सेवाग्राहीको ६० देखि ७० प्रतिशत समयलाई बचत गर्छ’ अर्यालले भने, ‘अब सर्वसाधारणले झन्झट व्योहोर्नुपर्दैन । डेट र टाइम बुकिङ गरेर आफ्नो पालोमा लिन सकिन्छ ।’
नेपालमा योभन्दा अघि हस्तलिखित र हरियो रंगको मेसिनरी राहदानी जारी हुँदै आएको थियो। अबदेखि संसारभर प्रचलित, वैज्ञानिक र भरपर्दो मानिएको इलेक्ट्रोनिक पासपोर्ट सुरु भएको विभागले जनाएको छ।
सेवाग्राहीले पहिलेको पासपोर्टमा जस्तै बुकलेट पाउनेछन्। नयाँ इलेक्ट्रोनिक पासपोर्ट ३४ र ६६ पृष्ठको छ। नयाँ पासपोर्ट राष्ट्रिय परिचयपत्रसँग पनि जोडिने विभागले जनाएको छ। उक्त कार्यको लागि विभाग र गृह मन्त्रालयले समन्वय गरेका छन्।
ई-पासपोर्ट के हो ?
विद्युतीय राहदानी अर्थात बायोमेट्रिक पासपोर्ट भनिने ई-पासपोर्टलाई अहिलेसम्म १२० मुलुकले प्रयोगमा ल्याएका छन् । राहदानी विभागले नेपालमा जारी गरिएको ई-पासपोर्टलाई सुरक्षा, डिजाइन र अन्य विशेषताको कारण एसियामै उत्कृष्टमध्ये रहेको जनाएको छ । आइकाओले ई-पासपोर्टलाई संसारमै सुरक्षित पासपोर्टको रुपमा परिभाषित गरेको छ । यसलाई एमआरपीभन्दा गुणस्तरीय र भरपर्दो मानिन्छ ।
ई-पासपोर्टमा मोबाइलमा जस्तै विद्युतीय ‘चिप’ र ‘एन्टेना’को प्रयोग हुन्छ । यसमा पासपोर्टसहित व्यक्तिगत विवरण र बायोमेट्रिक डेटा पनि राखिन्छ । यो पासपोर्टलाई मेसिन र कम्प्युटरले सजिलै रिड गर्न सक्छ । यसको सेक्युरिटी फिचर पनि बलियो हुन्छ । ई-पासपोर्ट प्रयोगमा आएपछि राहदानीको दुरुपयोग रोकिने अपेक्षा सरकारले लिएको छ । एक देशमा अपराध गरेर अर्को देशमा जान खोज्ने अपराधीलाई अध्यागमनमै रोक्न सकिने र इन्टरपोललाई पनि सजिलो हुने आशा लिइएको छ ।
इलेक्ट्रोनिक डेटामा बायोमेट्रिक राखिँदा एउटाको विवरण अर्कोसँग मिल्दैन । नेपालको ई-पासपोर्टमा ६४ वटा पृष्ठ छन् । पहिलेको पासपोर्टमा ३२ पृष्ठ थिए । सरकारले यी पृष्ठहरुमा सम्पदा, संस्कृति, वन्यजन्तु र विभिन्न पर्यटकीय स्थानको तस्बिर अंकित गरेको छ । पहिलो र अन्तिम कभरको भित्री पृष्ठमा नेपालको राष्ट्रिय झण्डा राखिएको छ । ६ वटा पासपोर्टको समेत रङ भिन्दाभिन्दै छ । सामान्य र अस्थायी राहदानीको रङ चकलेट रङको छ ।
‘अवश्य पनि नयाँ पासपोर्टले विश्वसामु नेपालको प्रतिष्ठा माथि जान्छ’ कार्यक्रममा विभागका महानिर्देशक अर्यालले भने, ‘हामीले एसियामै उत्कृष्टमध्येको पासपोर्ट जारी गरेका छौं ।’ हेन्ली पासपोर्ट इन्डेक्सको पछिल्लो सूचीमा नेपाली पासपोर्ट अफगानिस्तान, उत्तर कोरियाजस्ता द्वन्द्व ग्रस्त मुलुकहरुसँगै ११० औं स्थानमा थियो ।
जोशीको राहदानी संग्रहालयमा
राहदानी विभागले नेपालबाट जारी भएको राहदानीको अभिलेख राख्नका लागि संग्रहालय निर्माण गरिहेको छ। सो संग्रहालयमा शताब्दी पुरुष सत्यमोहन जोशीको राहदानी पनि राखिएको छ। विद्युतीय राहदानी वितरण कार्यक्रममा जोशीले आफ्नो राहदानी विभागका महानिर्देशकलाई बुझाएका हुन्।
सम्पदा, संस्कृति, जीवनयापन, वन्यजन्तु र ठाउँहरुको फोटो राखेको छ । ई-पासपोर्टको पहिलो र अन्तिम कभरका भित्री पृष्ठमा डाँफे र नेपालको राष्ट्रिय झण्डा रहेकाे छ।