जापान – ओकिनावा प्रान्तमा मात्र आपतकाल यथावत राख्दै जापान सरकारले अन्य नौ प्रान्तमा जुन २० तारिखबाट आपतकाल अन्त्यको घोषणा गरेको छ ।
बिहिबार साँझ प्रधानमन्त्री योसिहिदे सुगाले, पत्रकार सम्मेलन आयोजना गरि हाल आपतकाल कायम १० प्रान्तहरु मध्ये ओकिनवा बाहेकका नौ ओटा प्रान्तहरुमा कायम आपतकाल यहि २० तारिखबाट रद्द गर्ने निर्णय सार्वजनिक गरेका हुन् ।
प्रधानमन्त्री सुगाले अर्थतन्त्र पुनरुत्थान मन्त्री निशिमुरा तथा स्वास्थ्य मन्त्री तामुरासंगै अन्य सरोकारवालाहरुसंग गरेको बैठक पश्चात सरकारले २० तारिखबाट आपतकालिन अवस्था हटाउने निर्णयमा पुगेको थियो । यद्यपी आज विज्ञहरुसंगको अन्तिम छलफल तथा परामर्श पछि सरकार यो औपचारिक निर्णयमा पुगेको हो ।
योशिहिदेले सरकारी निर्णयबारे जानकारी गराउँदै ओकिनावामा कोरोना संक्रमण जोखिम अवस्थालाई हेरेर जुलाई ११ तारिखसम्म आपतकाल लम्ब्याउने निर्णय गरिएको बताउनुभयो । यस बाहेक गिफु र भिए प्रान्तमा लागू अर्ध आपतकालिन भाइरस रोकथाम प्राथमिकताका उपायहरु अवलम्बन गर्दै जुन २० तारिखबाटै अन्त्य हुनेछ ।
प्रधानमन्त्री सुगाले दिएको जानकारी अनुसार , ओकिनवा बाहेकका नौ वटा प्रान्तहरु टोकियो, ओसाका,ह्योगो,क्योतो,फुकुओका, होक्काईदो, आईची,ओखायामा र हिरोशिमा मा आपतकालिन अवस्था हटाईनेछ । सरकारी घोषणापछि अब राजधानी टोकियो, होक्काईदो, ओसाका, साईतामा, चिबा, खानागावा, आईची, ह्योगो, क्योतो र फुकुओका प्रान्तमा जुन २१ तारिखबाट जुलाई ११ तारिखसम्म अर्ध आपतकालिन भाइरस रोकथाम प्राथमिकताका उपायहरु लागू हुनेछ । ओकिनवामा भने जुलाई ११ तारिखसम्म आपतकाल नै थप गरिनेछ ।
सरकारले आपतकाल अन्त्यसँगै पादक पदार्थ विक्रि वितरणमा लगाएको रोकलाई खुकुलो बनाएको छ । आपतकाल जारी रहने ओकिनावामा मादक पदार्थ विक्रि प्रतिबन्ध यथावत रहेपनि अन्य प्रान्तमा भने खुल्नेछ । सरकारी घोषणा अनुसार जुन २१ तारिखबाट रात ७ बजेसम्म ओकिनावा बाहेक सबै ४६ प्रान्तमा पादक पदार्थ विक्रि वितरण गर्न पाइनेछ । तर नौ प्रान्तमा मादक पदार्थ विक्रि ७ बजेसम्म पाइएपनि ८ बजे व्यवसाय बन्द गर्नुपर्ने यसअघिकै समयसिमा तोकिएको छ ।
केन्द्र सरकारले मादक पदार्थ विक्रि वितरणलाई शर्त सहित खुल्ला गर्दै सम्वन्धित प्रिफेक्चरहरुले आवश्यकता अनुसार नयाँ निर्णय गर्नसक्ने समेत बताएको छ । जस अनुसार भाइरस संक्रमण उच्च पाइएमा कुनैपनि प्रिफेक्चरले मादक पदार्थ विक्रिलाई रोक लगाउन सक्नेछन । कोरोना भाइरस प्रतिक्रिया मुख्यालयमा प्रधानमन्त्री सुगा, आर्थिक पुनरुत्थान मन्त्री निशिमुरा र स्वास्थ्य, श्रम तथा कल्याण मन्त्री तामुराले भाग लिएका थिए । विज्ञ समितिसँगको छलफल पश्चात सरकारी निर्णय सुनाउँदै प्रधानमन्त्री सुगाले साँझ ७ बजेसम्म मात्र मादक पदार्थ विक्रि खुल्ला बारे जनतालाई बुझ्ने प्रयास गर्न र भाइरस रोकथामका उपायहरुलाई सहयोगका लागि आह्वान समेत गरेका छन् ।