
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेपालको ३० औँ प्रधानन्यायाधीश बन्न सफल भएका छन् । असार १ गते (आज) संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा नियुक्तिका लागि उनको नाम अनुमोदन गरेको हो । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशका लागि सिफारिस गरेको ४० औं दिनमा कार्की प्रधानन्यायाधीश बन्न सफल भए ।
सुनुवाइ समितिले दुई दिनको सुनुवाइपछि कार्कीको नाम अनुमोदन गरेको हो । बिहीबार कार्ययोजना पेश गरेका कार्कीसँग शुक्रबार प्रश्नउत्तर भएको थियो ।
लगतै समितिले उनको नाम सर्वसम्मत अनुमोदन गरेको छ । अब राष्ट्रपतिले नियुक्त गरेपछि कार्की प्रधानन्यायाधीश हुनेछन् ।
संसदीय सुनुवाइ समितिले बिहीबार र शुक्रबार प्रधानन्यायाधीशमा प्रस्तावित कार्कीसँग कार्ययोजना लिने र प्रश्नोत्तर गरेको थियो ।संसदीय सुनुवाइ समितिमा कार्कीविरुद्ध बहालवाला जिल्ला न्यायाधीशसहितका २९ वटा उजुरी परेका थिए ।
कार्की सर्वोच्च अदालतमा छोटो कार्यकाल नेतृत्व गर्नेछन् । ८ महिना कायममुकायम भएर सर्वोच्चको नेतृत्व गरेका उनी साउन २० गते अनिवार्य अवकाशमा जाँदैछन् ।



