
जापान – गैर आवासीय नेपाली संघ जापानको नयाँ नेतृत्व चयनको मिति नजिकिंदै गर्दा उम्मेद्दार घोषणा गर्ने क्रम बढेको छ ।
यहि क्रममा जापानको चिबामा व्यवसाय गर्दै आउनुभएका कृष्ण बहादुर थापाले केन्द्रिय सदस्यमा उम्मेद्दारी घोषणा गर्नुभएको छ । एनआरएनए जापानमा भएको राजनीतिकरण र संस्था भित्र देखिएको आर्थिक अनियमितता तथा विसंगतिको बिरुद्ध मैंले उम्मेद्दारी घोषणा गरेको हुँ केन्द्रीय सदस्य उम्मेद्दार थापाले भन्नुभयो ।
हामी युवाहरु जो यस्ता आरोपमा मुछिएका छैनौं र सबैलाई समेटेर संस्थाको छवि राम्रो बनाउन दत्तचित्त छौं , अब एनआरएनए जापानको नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गरिनुपर्छ उम्मेद्दारी घोषणाबारे बताउँदै थापाले एनआरएनए जापानको केन्द्रीय सदस्य जितेमा कुनैपनि राजनीतिक सहभागीता नजनाउने प्रतिबद्धता सहित संस्थाको आर्थिक सहित सम्पूर्ण क्रियाकलाप पारदर्शी बनाउन आफुले काम गर्ने बताउनुभयो ।
एनआरएनए जापानको केही क्षेत्रहरुमा समेत संस्थालाई राजनीतिकरण गरेर समिति गठन देखी आफ्ना मान्छे राख्न तल्लिन भएकोमा दुख व्यक्त गर्दै केन्द्रीय सदस्य उम्मेद्दार थापाले आफ्नो कार्यकालमा यस्ता विकृती र विसंगति हुन नदिन संस्थाभित्रै सक्रियतापूर्वक लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
आठ बर्षअघि कुकको रुपमा जापान आएर हाल रेष्टुरेण्ट र हलाल फुड संचालन गर्दै आउनुभएका व्यवसायी थापाले चितवन समाज जापान कान्तो क्षेत्रको सचिवको रुपमा समेत कार्यभार सम्हालिसक्नुभएको छ । एनआरएनए जापान कान्तोको २०१७ २०१९ मा सदस्यको रुपमा एक कार्यकाल काम गरिसक्नु भएका थापाले जापानवासी नेपालीहरुले स्वच्छ छविको एक युवा उम्मेद्दारको रुपमा आफुलाई मत दिने विश्वास व्यक्त गर्नुभयो ।